चितवन, ६ माघ ।
चितवनमा जिल्ला स्तरीय सितोरियो सोवुकान कराते दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । नेपाल सितोरियो सोवुकान कराते डो संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको कार्यक्रममा १५१ जना खेलाडीहरु दीक्षित भएका छन् ।
चितवन ग्रेडिङ समितिका संयोजक सुधिर श्रेष्ठका अनुसार तीन दिन चलेको कार्यक्रममा फर्स्ट डनबाट १३१ जना दीक्षित भएका छन् । यस्तै सकेन्ड डनबाट १३ र थर्डडनबाट ७ जना दीक्षित भएका छन् ।
उनीहरुलाई नेपाल सितोरियो सोवुकान कराते डो संघका प्रशिक्षक सजन श्रेष्ठले मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका अध्यक्ष सनिस श्रेष्ठ र सचिव सम्राट श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरु दीक्षित हुनु आफैँमा एउटा उपलब्धि भएको बताए । उनले खेलाडीहरुलाई आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरुलाई प्रेरित गर्न पनि आग्रह गरे ।





