चितवन, १ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी बढेको छ । परिवर्तनको अपेक्षामा रहेका आम मतदाताको ध्यान पुनः चितवनतर्फ केन्द्रित भएको छ । गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई पराजित गर्दै नयाँ राजनीतिक सन्देश दिएका थिए । सोही लहरले यसपटक चितवन क्षेत्र नम्बर ३ लाई पनि परिवर्तनको अर्को सम्भावित केन्द्रका रूपमा हेरिन थालिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता परम्परागत दलका उम्मेदवारहरू मैदानमा उत्रिँदै गर्दा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । माओवादी केन्द्रबाट रेनु दाहाल र राप्रपाबाट विक्रम पाण्डेले उम्मेदवारी घोषणा गरेसँगै राजनीतिक तापक्रम ह्वात्तै बढेको छ । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा, शिक्षित र संगठनात्मक रूपमा खारिएका नेता विशाल कोइरालाको सम्भावित उम्मेदवारीले आम मतदाता र पार्टी कार्यकर्तामाझ विशेष उत्साह र चासो पैदा गरेको छ ।
रास्वपाबाट चितवन–३ मा उम्मेदवारीका लागि पाँच जनाले आकाङ्क्षा प्रस्तुत गरेका छन् । सचिवालय सदस्य शोभिता गौतमको नाम पनि चर्चामा रहे पनि पार्टीभित्र र बाहिर जिल्ला सचिव विशाल कोइरालालाई व्यवहारिक, भरोसायोग्य र जित्ने सम्भावना बोकेको उम्मेदवारका रूपमा हेरिएको छ । कोइरालाले औपचारिक रूपमा उम्मेदवारीका लागि आवेदन दिएको पुष्टि गर्दै पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र मापदण्डअनुसार निर्णय हुने स्पष्ट पारेका छन् । शोभिता गौतमप्रति सम्मान व्यक्त गर्दै उनले पार्टी हितलाई पहिलो प्राथमिकतामा राखेको धारणा सार्वजनिक गरेका छन् ।
“शोभिता गौतमज्यू मेरो पहिलो प्राथमिकतामा हुनुहुन्छ। उहाँले उम्मेदवारी दिनु भएन भने पार्टीका लागि जिम्मेवारी लिन म पूर्ण रूपमा तयार छु,” उनी भन्छन् ।
पढाइ, उद्यमशीलता र राजनीतिमा सन्तुलित यात्रा
उमेरले भर्खर ३१ वर्ष टेकेका विशाल कोइराला चितवनका लागि नयाँ नाम होइनन् । भरतपुर महानगरपालिका वडा नम्बर १४, शिवनगरका स्थायी बासिन्दा उनी शिक्षक बाबुको संस्कारमा हुर्किएका मध्यमवर्गीय परिवारका सन्तान हुन् । सानैदेखि मेधावी, अनुशासित र नेतृत्व क्षमतायुक्त विद्यार्थीका रूपमा चिनिएका कोइरालाको प्रारम्भिक शिक्षा भरतपुरकै सनराइज स्कुलबाट भएको हो ।
२०६६ सालमा एसएलसी परीक्षा उत्कृष्ट श्रेणीमा उत्तीर्ण गरेपछि उनले उच्च शिक्षा पनि चितवनमै निरन्तरता दिए । प्रेसिडेन्सी कलेज, भरतपुरबाट व्यवस्थापन विषयमा स्नातकोत्तर र वीरेंद्र क्याम्पसबाट समाजशास्त्रमा अर्को स्नातकोत्तर डिग्री हासिल गरेका उनी शैक्षिक र बौद्धिक दुवै दृष्टिले सक्षम युवा नेताका रूपमा चिनिन्छन् ।
“मास्टर पढ्दादेखि नै विभिन्न व्यवसायमा संलग्न छु । बिहानको समय अध्यापन पनि गर्छु,” भन्दै उनी आफ्नो जीवनशैली सुनाउँछन् ।
राजनीतिमा प्रवेश गर्नु अघि नै उनी उद्यमशीलतामा सक्रिय थिए । व्यक्तिगत जीवनमा स्थायित्व हुँदाहुँदै पनि देशको राजनीतिक अस्थिरता, बेरोजगारी, युवाको विदेश पलायन, किसानको पीडा र राज्यप्रतिको नागरिक निराशाले उनलाई राजनीतितर्फ आकर्षित गर्यो । राजनीतिलाई पद र सुविधा होइन, समाज परिवर्तनको माध्यमका रूपमा बुझ्ने सोचले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जोड्यो ।
संगठन निर्माणदेखि उम्मेदवारीसम्म : बढ्दो विश्वास
चितवन–२ को उपनिर्वाचनका क्रममा रास्वपाको सचिवालयमा रहेर काम गरेपछि उनी पार्टीको संगठन, कार्यशैली र विचारधारासँग नजिकबाट जोडिए । कार्यक्षमता, इमानदारी र नतिजामुखी कामकै आधारमा उनलाई चितवन जिल्ला सचिवको जिम्मेवारी दिइयो । जिल्ला सचिवको रूपमा उनले चितवनका ९४ वटै वडामा नगर अधिवेशन सफलतापूर्वक सम्पन्न गराउँदै संगठन विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् ।
रवि लामिछानेको चुनावी अभियानदेखि नारायणगढ–बुटवल सडकखण्डको १२० किलोमिटर पदयात्रासम्म उनी अग्रपङ्क्तिमा रहेर सक्रिय देखिए। पार्टीको डिजिटल प्रणाली, अभिलेख व्यवस्थापन र कार्यक्रम सञ्चालनमा देखाएको दक्षताले उनलाई पार्टी नेतृत्वको विश्वासपात्र बनाएको छ ।
चितवन–३ का मतदाताले आज नयाँ सोच, इमानदार नेतृत्व र परिणाम दिने प्रतिनिधिको खोजी गरिरहेका छन् । स्थानीय समस्या र सम्भावनाको गहिरो बुझाइ, शिक्षित र उद्यमी पृष्ठभूमि तथा राजनीतिलाई सेवाका रूपमा बुझ्ने दृष्टिकोणले विशाल कोइरालालाई आशालाग्दो उम्मेदवार बनाएको छ। युवालाई स्वदेशमै रोजगारी, कृषि उत्पादनको आधुनिकीकरण, ब्रान्डिङ र बजारीकरण तथा पारदर्शी र जवाफदेही शासन उनका प्रमुख एजेन्डा हुन् ।
पुराना दलका स्थापित अनुहारहरूको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी र विशाल कोइरालाजस्ता युवा, शिक्षित र इमानदार नेतृत्वले चितवन–३ मा नयाँ आशा र विश्वासको सञ्चार गरिरहेका छन्। आज चितवन–३ एउटा निर्णायक मोडमा उभिएको छ, जहाँ मतदाताले पुरानो अभ्यास र नयाँ सम्भावनाबीच छनोट गर्नुपर्ने अवस्था आएको छ।
अब प्रश्न एउटै छ— पुरानै अनुहार कि नयाँ सोच ?





