कृषि प्रविधिको महाकुम्भ : चितवनमा शुक्रबारदेखि आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पो

चितवन, १ माघ ।
कृषि प्रविधिको प्रदर्शन तथा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवनमा आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ गते शुक्रबारदेखि सुरु हुँदैछ । उक्त एक्स्पोको उद्घाटन वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुहुनेछ ।

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा यही माघ २ गतेदेखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२’ आयोजना हुन लागेको हो । एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आयोजक संस्था नेपाल मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ । सबै स्टल बुकिङ भइसकेका छन् भने प्रदर्शकहरू समेत चितवन आइपुगेका छन् । विगतका वर्षझैँ यस वर्ष पनि देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको उल्लेख्य सहभागितामा एक्स्पो आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू रहनेछन् । हाल स्टल बुकिङ पूरा भई तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने भट्टराईले बताउनुभयो ।

“प्रदर्शनीमा साना कृषिऔजारदेखि डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा उपलब्ध गराइनेछ,” उहाँले भन्नुभयो । “यो एक्स्पो केवल प्रदर्शनीमा सीमित नरही कृषि क्षेत्रमा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, बजारीकरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म बन्ने हाम्रो अपेक्षा छ ।”

यस एक्स्पोले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पुग्ने, तिनको प्रयोगमार्फत कृषिउत्पादन वृद्धि हुने तथा दीर्घकालीन रूपमा मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

प्रदर्शनीले विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान आर्जन, आधुनिक प्रविधिको अवलोकन तथा नेटवर्किङको महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवर्द्धक संस्थाका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट