प्रदेश प्रहरी कार्यालयलाई ३० वटा मोटरसाइकल प्रदान

मकवानपुर, १ माघ ।
बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।

बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् । प्रदेश प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको ९७ लाख २० हजार रुपैयाँ बजेटबाट खरिद गरिएका १६० सीसीका ३० वटा मोटरसाइकल गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनको विकल्पका रूपमा उपलब्ध गराइएको बताइएको छ ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रहरीको मनोबल उच्च बनाउन तथा सबलीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ शान्ति सुरक्षा कायम गर्न सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको छ’ उनले भने ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको बताए ।उनले भने ‘जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको मर्मतसम्भारका लागि समेत सरकारले बजेट विनियोजन गरेको छ ।’
प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेलले प्रदेश सरकारको सहयोगमा १ अर्ब रुपैयाँभन्दा बढी लागतमा ७२ वटा प्रहरी कार्यालय भवन निर्माण भइसकेको र केही अझै निर्माणाधीन अवस्थामा रहेको बताए । ‘आन्दोलनका क्रममा सवारी साधन क्षति हुँदा कार्यसम्पादनमा असर परेको छ’ उनले भने ‘प्रहरीलाई चारपाङ्ग्रे सवारी साधनको आवश्यकता छ ।’

उनका अनुसार प्रदेश सरकारबाट प्राप्त ३० वटा मोटरसाइकल प्रदेश अन्तर्गतका १० जिल्लाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयहरूलाई प्रदान गरिनेछ।  ‘उक्त सवारी साधनले दैनिक शान्ति सुरक्षा, निर्वाचन लक्षित सुरक्षा योजना तथा अपराध रोकथाममा प्रभावकारी भूमिका रहन्छ’ उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट