मकवानपुर, १ माघ ।
बागमती प्रदेश सरकारले बैठकले ‘प्रदेश गौरवका ३२ वटा आयोजना’ छनोट गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न मन्त्रालयहरूले प्रस्ताव गरेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय आयोजनालाई पारित गरेको हो ।
सरकारले प्रदेशमा ३२ वटा आयोजनाहरूलाई गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
‘बुधबारको बैठकले गौरवका आयोजनाको शीर्षक मात्र स्वीकृत गरेको छ’ मन्त्री तामाङले भने ‘बजेटको हकमा आर्थिक मामिला मन्त्रालयले वित्तीय व्यवस्थापनको क्षमता हेरेर तय गर्नेछ ।’
यसैगरी बैठकले केही समयदेखि रोकिएको प्रदेश सचिवहरूको तलबका विषयमा प्रदेश ऐनले तोके बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यस्तै प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा तयार गरी परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।
निजामती सेवा ऐनले निदृष्ट गरे बमोजिमका विषयमा थप प्रस्ट पार्न र ऐनले नसमेटेका विषयहरूलाई तोकिएको ढाँचामा प्रस्तुत गर्न नियमावली तयारी गरिएको हो ।
त्यस्तै बैठकले ‘विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष नियमावली २०८२’ स्वीकृत गरेको छ । उक्त नियमावली सामाजिक विकास मन्त्रालयको प्रस्ताव पेश गरिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२’ को मस्यौदा पनि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ ।





