चितवन, २६ पुस ।
चितवनको थारू समुदायअन्तर्गत पर्ने जब्का महतान पटिदारीले आफ्नो २९औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । बंशावली, सामाजिक एकता, पहिचान संरक्षण र भावी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समुदायका थुप्रै सदस्यहरूको उल्लेख्य सहभागिता रह्यो ।
कार्यक्रमको अध्यक्षता आशाराम महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व न्यायाधीश तथा वरिष्ठ अधिवक्ता नन्दलाल महतो उपस्थित हुनुहुन्थ्यो । उद्घोषण मनोज थारूले गर्नुभएको थियो भने प्रमुख अतिथिले ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो ।
स्वागत मन्तव्य झगरु महतोले राख्नुभयो । उहाँले संस्थाको इतिहास, सामाजिक योगदान र भावी पुस्तालाई एकताबद्ध राख्न यस्ता भेलाहरू आवश्यक भएको औंल्याउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो । पूर्व अध्यक्ष रामप्रसाद महतोले संस्थाको विगत र वर्तमान अवस्थाबारे समीक्षा गर्नुभयो। वरिष्ठ चरा विशेषज्ञ हठना महतोले जैविक विविधता र वातावरण संरक्षणमा समुदायको योगदानको महत्व उल्लेख गर्नुभयो । स्वास्थ्यकर्मी तथा वरिष्ठ ल्याब टेक्निसियन सन्तकुमार महतोले स्वास्थ्य सचेतना र समुदायस्तरमा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी दिनुभयो ।
महिला प्रतिनिधि कमला महतोले महिला सहभागिता र सशक्तीकरणको आवश्यकता औंल्याउनुभयो । वैदेशिक रोजगार व्यवसायी सत्यनारायण महतोले वैदेशिक रोजगारीका अवसर, चुनौती र सुरक्षित आप्रवासनको विषयमा धारणा राख्नुभयो । जेष्ठ नागरिक मनिराम महतोले सामाजिक मूल्य, संस्कार र पुस्तान्तरणको विषयमा मन्तव्य व्यक्त गर्नुभयो ।
साधारणसभामा कोषाध्यक्ष जीवनराम महतोले संस्थाको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो, जुन सभाले सर्वसम्मत रूपमा पारित गर्यो । अधिवेशनमार्फत नयाँ कार्यसमिति पनि गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा पुनः आशाराम महतो चयन हुनुभएको छ । उपाध्यक्षमा झगरु महतो, सचिवमा हरि महतो, र कोषाध्यक्षमा जीवनराम महतो चयन भएका छन् । सदस्यहरूमा मीना महतो, हरिलाल महतो, लक्ष्मण महतो, फूलमाया महतो, प्रेमकुमार महतो, दसनी महतो र भगवती महतो रहेका छन् । साथै, विभिन्न अनुभवी व्यक्तिहरूलाई सल्लाहकारका रूपमा मनोनीत गरिएको छ ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि नन्दलाल महतोले बंशावली संस्थाहरू सामाजिक एकता, आपसी सहयोग र पहिचान संरक्षणको आधारस्तम्भ भएको उल्लेख गर्दै जब्का महतान पटिदारीले भविष्यमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
समग्रमा, उक्त साधारणसभा तथा अधिवेशनले चितवनको थारू समुदायभित्र जब्का महतान पटिदारीको संगठनात्मक मजबुती, आपसी एकता र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् ।





