सौराहामा थारु समाज, संस्कृति र साहित्य बारे विमर्श

सौराहा, २६ पुस ।
कविडाँडा साहित्य समाज चितवनको आयोजनामा शनिबार सौराहामा `थारु समाज, संस्कृति र साहित्य : कार्यशाला गोष्ठी´ गरिएको छ ।

सौराहास्थित थारु इथनिक रिसोर्टमा गरिएको कार्यक्रम तीनवटा सत्रमा सञ्चालन भयो । पहिलो सत्रमा ३० वर्षदेखि नेपालमा बसिरहेका रोबर्टसनले थारु जातिको इतिहास र थारु समाजको बारेमा आफूले अनुभव गरेका कुराहरू प्रस्तुत गरे । थारु जातिको इतिहास, चितवन र राष्ट्रिय निकुञ्जका बारेमा किताब लेखिरहेको थोमसले बताए । कविडाँडाका अध्यक्ष एलबी क्षेत्री र लालमीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछानेले थोमसलाई सम्मान पनि गरे । पहिलो सत्रमा शुभकामना मन्तव्य राख्दै लेखक नीलम कार्की निहारिकाले भनिन् – `कविडाँडाले साहित्यसँगसँगै समाज र इतिहासका क्षेत्रमा पनि फैलिएर काम गरिरहेको छ ।´

दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत भयो । डाक्टर सञ्जय चौधरीले `थारु समाज : आदिम मूलदेखि आधुनिक पहिचानसम्म´ र डाक्टर कृष्णराज सर्वहारिले `थारु जीवनशैली : समाज, साहित्य र संस्कृति´ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । यी दुबै कार्यपत्रमाथि समालोचक डाक्टर एकनारायण पौड्यालले समीक्षा सुनाए ।

तेस्रो सत्रमा `थारु साहित्यको उदीयमान परिदृश्य : लेखन, विषयवस्तु र प्रवृतिहरू´ शीर्षकमा प्यानल बहस गरियो । प्राध्यापक चेतराज रेग्मीले सहजीकरण गरेको कार्यक्रममा मोहन डङ्गौरा, कारी महतो, सबिता चौधरी र मणिराज महतो सहभागी थिए ।

कार्यशालामा थारु समुदायको ऐतिहासिक भूमिका, साहित्यिक योगदान र वर्तमान पहिचान संकटबारे गहिरो बहस गरिएको थियो ।
सो अवसरमा चितवनको इतिहासका अध्येता तथा अमेरिकी इतिहासविद् प्रोफेसर डा. थोमस रमर्सन (टम) ले थारु समुदायलाई अलग गरेर चितवनको इतिहास लेख्नै नसकिने स्पष्ट पारे । `हरेक समाजको आफ्नै इतिहास हुन्छ । वन, नदी र हावासमेतको इतिहास हुन्छ । चितवनका थारुहरूले वन, नदी र वातावरणसँग जोडिएको इतिहास बोकेका छन् । यसको अध्ययन र संरक्षण आज अत्यन्त आवश्यक छ ।´ उनले भने ।

तीस वर्षदेखि नेपालमा बसेर वातावरणीय इतिहासको अध्ययन-अनुसन्धान गरिरहेका रबर्टसनले थारु समुदायको परम्परागत ज्ञानकै कारण चितवनका घाँसे मैदान, बाघ र गैँडाजस्ता वन्यजन्तुको संरक्षण सम्भव भएको उल्लेख गरे । `थारुहरूको संस्कृति, ज्ञान र स्थानीय भाषा संरक्षण गर्न सकियो भने चितवनको इतिहास सुरक्षित हुन्छ ।´ उनले भने ।

उनले आधुनिकीकरणसँगै नेपालमा इतिहासप्रति मानिसको रुची हराउँदै गएको बताए । `नेपालमा मान्छेहरु उहिलेको कुरा सुन्न चाहँदैनन् , आधुनिक कुरा मात्र गर्छन् । तर पुरानो कुरा महत्वपूर्ण हुन्छ ।´

कार्यक्रममा मदन तथा पद्मश्री पुरस्कार विजेता नीलम कार्की निहारिकाले नेपाली समाजमा इतिहासप्रतिको रुचि कमजोर हुनु दुःखद् भएको बताइन् । `नेपालमा इतिहास लेखनको परम्परा लामो छैन । राजनीतिक परिवर्तनले सांस्कृतिक विखण्डन गर्‍यो, तर अहिले हरेक समुदायको संस्कृतिबारे बोल्न पाउनु सकारात्मक पक्ष हो,” उनले भनिन् । साहित्य र संस्कृति एक–अर्कासँग जोडिएको उल्लेख गर्दै उनले संस्कृतिलाई नबुझी साहित्य लेख्न नसकिने धारणा राखिन् ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयातित संस्कृतिले थारु समाजमा पनि प्रभाव पारेको धारणा राखे । `पहिचान सबैभन्दा ठूलो कुरा हो । पहिचान संरक्षणमा सबैजना लाग्न जरुरी छ”, क्षेत्रीले भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उदय अधिकारीले थारु साहित्य चितवनको साहित्यिक इतिहासको अग्रमोर्चामा रहेको उल्लेख गर्दै जितिया पावनी कवितासङ्ग्रहबाट थारु साहित्यको यात्रा सुरु भई नेपाली भाषामा रुपान्तरण भएको जानकारी दिए । थारु इतिहासको खोजीमा राजस्थानसम्म पुगेका भजुमनराम महतोले थारु समुदायसँग समृद्ध सांस्कृतिक-साहित्यिक इतिहास रहेको बताए ।

प्राध्यापक डा. सञ्जय चौधरीले प्रस्तुत गरेको कार्यपत्रमा थारु समुदायमा ज्ञान-सीपमा धनी भए पनि मौलिकता संकटमा परेको उल्लेख गरे । आधुनिकीकरण र राज्यको नीतिका कारण भविष्यमा थारु पहिचान मर्ने खतरा बढेको उनको भनाइ थियो । `विद्यमान थारु संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति हो ।´, चौधरीले भने – `थारु समुदाय प्रकृति र जीविकोपार्जनमा आधारित समाज भएको र जंगल, खोला, माटो तथा कृषि औजारलाई पूज्ने परम्परा रहेको छ ।´

कार्यशालामा डा. कृष्णहरि सर्वाहारीले नेपालमा थारुको जनसंख्या १८ लाखभन्दा बढी रहेको उल्लेख गर्दै थारु समुदायको भाषा, संस्कृति, ज्ञान र पहिचान संरक्षण गर्दै राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता बहस र कार्यशालाहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए ।

चौथो सत्रमा कविता वाचन गरिएको थियो भने पाँचौँ सत्रमा थारु सांस्कृतिक प्रस्तुति राखिएको थियो । कवितावाचन सत्रलाई रामकृष्ण अनायासले सहजीकरण गरेका थिए । लक्ष्मण चौधरी, भजुमनराम महतो, सिएम अपिल चितौने, डाक्टर राउत, शान्ता देवकोटा, परिवेश मुन्छे, प्रकृति प्रेमी, छवि वैरागी घिमिरे, शून्य नयनलगायतले कवितावाचन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट