मकवानपुर, २३ पुस ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाको मनोनयन दर्ता भएको छ । बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभाका २ रिक्त सिटका लागि ४ राजनीतिक दलका ६ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालयमा बुधबार नेकपा एमालेबाट १ जना, नेपाली कांग्रेसबाट १ जना, नेपाली कम्युनिष्ट पार्टीबाट २ जना तथा नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच यसअघि नै गठबन्धन बनाएर अघि बढ्ने सहमति भएको थियो । सोहीअनुसार बागमती प्रदेशका २ सिटमा एमाले र कांग्रेसले एक–एक उम्मेदवार उठाएका हुन् ।
नेकपा एमालेबाट डा. प्रेमप्रसाद दंगालले मनोनयन दर्ता गराएका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका दंगालको प्रस्तावकमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा र समर्थकमा बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी रहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने दंगाल यसअघि राष्ट्रिय योजना आयोगको सदस्य तथा २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भइसकेका छन् । वैचारिक नेताको पहिचान बनाएका डा. दंगाल अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्षसमेत हुन् । उनीसँग राज्यका विभिन्न निकायमा काम गरेको अनुभव रहेको छ ।
गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसले चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । देवकोटाको मनोनयन दर्ताका क्रममा प्रस्तावकमा नेपाली कांग्रेसका प्रलाह सापकोटा र समर्थकमा नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य तथा स्वास्थ्य मन्त्री किरण थापा रहेका छन् ।
पेसाले मौरीपालक कृषक रहेकी देवकोटा चितवनको रत्ननगर नगरपालिका–१४, डुम्रीचोक निवासी हुन् । ३२ वर्ष लामो राजनीतिक यात्रामा पहिलो पटक उनी चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय देवकोटा हाल पार्टीको महासमिति सदस्य हुन् । यसअघि उनी दुई पटक महाधिवेशन प्रतिनिधिसमेत भइसकेकी छन् । उनले आफ्नो उम्मेदवारीलाई लामो राजनीतिक संघर्ष र सामाजिक योगदानको निरन्तरताको रूपमा लिएको बताएकी छन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले एक महिला र एक पुरुष उम्मेदवारको मनोनयन दर्ता गराएको छ । सुरुमा एमाले, कांग्रेस र जसपासँग गठबन्धन गर्ने तयारी भए पनि सहमति टुटेपछि नेपाली कम्युनिष्ट पार्टीले एकल उम्मेदवारी दिएको हो । पार्टीबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दर्ता गराएका छन् ।
सिन्धुपाल्चोक निवासी सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन् । उनको प्रस्तावकमा पार्टी नेता प्रेमबहादुर पुलामी र समर्थकमा बकैया गाउँपालिका उपाध्यक्ष भक्त खत्री रहेका छन् । त्यस्तै सरोजकुमारी झाको प्रस्तावकमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा र समर्थकमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रहेका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन र विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन् । कविता महर्जनको प्रस्तावकमा सुरेन्द्र गोसाईं र समर्थकमा सिर्जना सायजु रहेका छन् भने विक्रम ढुकुछुको प्रस्तावकमा सुनिल प्रजापति र समर्थकमा राजनी जोशी रहेका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका लागि गत पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिसकेको छ । माघ ११ गते मतदान हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको आयोगले जनाएको छ । मनोनयन दर्ता गरेका उम्मेदवारहरूले पुस २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । पुस २८ गते उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा दुई मतदान केन्द्र तोकिएको छ ।
बागमती प्रदेशमा ११९ स्थानीय तह र ११० जना प्रदेश सभा सदस्य रहेका छन् । मतभारका आधारमा एमालेको प्रदेश सभातर्फ १,४३१ र स्थानीय तहतर्फ १,१४० गरी कुल २,५७१ मतभार छ । कांग्रेसको प्रदेश सभातर्फ १,९६१ र स्थानीय तहतर्फ २,०३३ गरी कुल ३,९९४ मतभार छ । माओवादीको प्रदेश सभातर्फ १,११३ र स्थानीय तहतर्फ १,०८३ गरी कुल २,१९६ मतभार छ । एकीकृत समाजवादीको प्रदेश सभातर्फ ३७१ र स्थानीय तहतर्फ १७१ गरी कुल ५४२ मतभार छ । राप्रपाको प्रदेश सभातर्फ ६८९ र स्थानीय तहतर्फ १९ गरी कुल ७०८ मतभार छ । नेमकिपाको प्रदेश सभातर्फ १५९ र स्थानीय तहतर्फ ३८ गरी कुल १९७ मतभार छ । हाम्रो नेपाली पार्टीको प्रदेश सभातर्फ १०६ र स्वतन्त्रबाट स्थानीय तहमा १९ मतभार रहेको छ ।
देशभर राष्ट्रिय सभा सदस्यमा रिक्त हुन लागेका १८ सिटमध्ये सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ । माओवादी केन्द्र (हाल नेकपा) गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरणअनुसार सिट बाँडफाँट गरेका हुन् ।





