`फूलहरू’ कवितासङ्ग्रहभित्र मुख्य भाग कविता ८६ पृष्ठ भूमिका र अन्य गरी १० पृष्ठ आवरण बाहेक ९६ पृष्ठ रहेको छ । छोटा र केही मध्यम आकारका भन्न सकिने खालका कविताहरू रहेको यस कविता सङ्ग्रहभित्र समसामयिक विषयमा आधारित छोटा कविताहरूको सङ्ख्या धेरै रहेको छ । कवि आफ्नो कविताहरूमा समाजको बिग्रँदो मनोविज्ञानतर्फ सङकेत गर्दछन् भने प्रेम भावले मात्र मान्छेलाई सहीमार्गमा ल्याउन सकिने योजनबद्ध दृष्टिकोण सार्वजनिक गर्दछन् । उनका कवितालाई खासगरी तीन वटा आधारमा हेर्न सकिन्छ :
क. राजनीतिक नेतृत्वप्रतिको कटाक्ष
ख. प्रकृतिको वर्णन र
ग. प्रेममय जीवन
क. राजनीतिक नेतृत्वप्रतिको कटाक्ष
कवि विश्वनाथ खनालको एउटा राजनीति झुकाव छ, होला र हुनुपर्छ पनि । मानव स्वाभाविक रूपमा राजनैतिक प्राणी हो । उसले गर्ने प्रत्येक निर्णय कुनै न कुनै हिसावले ऐतिहासिक महत्त्वको हन्छ तथापि त्यो निर्णयले समाजलाई डोहोर्याउन सक्छ भन्ने कुरामा पर्याप्त सोच विचार पुर्याउने कविले राजनीति दृष्टिकोण, सत्ताका लागि हुने गरेका चुनाव अनि सत्ता प्राप्ति पछिका कलाहीन नाटकलाई आफ्नो विषयको स्रोत र सम्प्रेषणको सन्दर्भ बनाएका छन् । समाजलाई अगाडि बढाउने विषय राजनीति नै हो । त्यो सही दृष्टिकोण सहितको हुन नसके समाज अधोगतिमा पुग्दछ जसले जनताका दैनन्दिन समस्या र राष्ट्रको आकाङ्क्षा भेट्न सक्दैन ।
यावत् धर्मग्रन्थहरूमा
कल्पनातीत आ–आफ्नो अस्तित्वको स्वर्गमा समेत
फरक फरक छ हेर्ने दृष्टिकोण
गरिन्छ फरक व्यवहार
लिङ्गको आधारमा
सकिएको छैन बदल्न
यथास्थितिवादलाई ! (पृ.१ दृष्टिकोण)
कवि सटिक प्रस्तुति छ । कवि संश्लेषित विचार प्रवाह भएको छ । हो हामी धर्मको नाममा अनेक कुरा गरौँ तर समाज सम्पन्न बन्न सकेको छैन हाम्रा आचरणहरू बिग्रँदै भल्कँदै छन् । हामीले व्यवहार सुधार्न नसन्नु हाम्रै कमजोरी हो अर्कालाई दोष दिने ठाउँ नै छैन । आज हामी कुनै न कुनै हिसावले गणतन्त्रको यात्रामा छौँ देश मागेर चलेको छ विश्व राजनीतिमा हाम्रो दर्शन, हाम्रो जीवनशैली र हाम्रो परिचय कतै छ भने त्यो भोको नेता र निर्लज्ज प्रशासन मात्र छ । हामीले खोजेको आदर्श यस्तो होइन भन्दै कवि सत्ता सञ्चालनको सिरानमा रहँदा वादशाहलाई खुला चुनौती दिन डराउँदैनन् :
खित्का छोडिरहेछ लोक
हाँसोका पात्र भएका छौ तिमी
निर्वस्त्र भएका छौ महाशय
विल्कुल निर्वस्त्र
वादशाहको पहिरनमा । (पृ. ६, निर्वस्त्र)
देशभित्रका नेपालीलाई भुटानी शरणार्थी बनाएर मानव तस्कर गर्नेहरू, देशका उद्योगधन्दा कौडीको भाउमा बेच्नेहरू, नेपालको लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन प्रयास नगर्नेहरू आपूmलाई शासक भन्दै सत्ताको साँचो घुमाइरहेका छन् । जनताको जनजीविकाको विषय यहाँ ओझेलमा परेको छ । मागेर चलाउने परनिर्भर अर्थतन्त्र हाम्रो परिचय बनेको छ । कविले ‘आजभोलि’ शीर्षकको कविता समेत घुमाउरो पाराले राम्ररी नेतृत्वप्रति प्रहार गरेका छन् । सुखी नेपाली सम्वृद्ध नेपाल भन्दै उखानले अलमलाउने नेतृत्वप्रतिको कटाक्ष यहाँ कलात्मक खालको देखिन्छ :
हाम्रो अनुमति बिना
कसैले भोको बस्न पाउँदैन
नाङ्गो हुन पाउँदैन
काम गर्न पाउँदैन । (पृ. ८, आजभोलि)
नेपाली राजनीतिमा अनेक खालका आरोप लागेका पात्रहरू चाटुकार शैलीमा देखापरेका छन् । न्यूनतम योग्यता र नैतिकता नभएकाले राजनीति गर्दाको परिणाम जनताले भोगेका छन् । चिच्याएर अर्कालाई गाली गर्दैमा राजनीति सफल भएको ठान्ने शीर्ष नेतृत्वको पाराले दलाल र ठगहरूलाई मद्दत पुगेको कुरामा कविको ‘छाप’ कविताले बोलेको छ । नेपालीलाई कमजोर तुल्याउनु छ भने संस्कृतिको पाटोलाई सिध्याइ दिए हुन्छ र त्यसबेला नेपाल पनि बाँकी रहँदैन भन्ने भावको कविताले हाम्रो संस्कार छ संस्कृति भित्रको विज्ञानलाई खोज्न मद्दत पु¥याएको छ । कवि आफूलाई नमिसाएरै निकै परिपक्व पारामा समाज परिवर्तनका कारण राखिदिन सफल देखिएका छन् :
अवसान भएपछि विचारको
उठान हुँदैनन् भुइँमान्छेका समस्याहरू
बुर्जुवाहरूको खेतालो बनेर
बुझ्न थालेपछि ज्याला मजदुरी (पृ. १२, मृत्यु)
कवि श्रमिकको जीवन कठिन बन्दै जाँदा नेतृत्व लालचमा फँसेको छ भन्दछन् । कवि विचारको यात्रामा लामबद्ध भएर देशलाई जीवन दिने सहिदको सपना नबिर्सन आह्वान गर्दछन् । सालिकलाई सम्झनाको बिम्ब मानेर योजना नबनाए सहिदको योगदान बिर्सिने र विचौलियाहरू सत्ता र सङ्गठनमा हावी हुने कुरामा कविताले जोडदिएको छ । प्रयोजन शीर्षकको कवितामा कविले कुनै पनि कुराको प्रयोजन हुन्छ । प्रयोग गरिसकेपछि बिर्सने हाम्रो प्रचलनले हामीलाई स्वार्थी र मरेतुल्य बनाउँदै लगेको छ :
फोहोरमा परिणत भएर कन्टेनरमा पुगेपछि
बोध गर्दो हो
आफ्नो उपयोगिताको
जसरी कार्यकर्ता प्रयोजन विहीन हुन्छन्
निर्वाचन पछि । (पृ. १९, प्रयोजन)
मतदातालाई कसरी सन्तुष्ट पार्ने अनि कार्यकर्तालाई कसरी गुणात्मक क्षमताको बनाउने भन्ने बारेमा हाम्रो लोकतन्त्रमा बहस नै छैन । मतदाता दुहुनो गाई अनि कार्यकर्तालाई केवल दलाल जस्तो मानेर माथि पुगेको नेतृत्व विदेशीको प्रतिनिधि सावित भएको छ । विश्वमा नै जनताले अनेक खालका युद्धको सामना गर्नुपरेको छ । करोडौँ मानिस प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी भएर युद्धको पीडा भोगेको वर्तमान स्थितिमा कारक भने अविवेकी सत्ता नै भएको ठहर यहाँ गरिएको छ :
जारी रहनेछ यो युद्ध
विरूद्धमा तिमी आमनेसामने हुनेछौ
हार हुनेछ
तिम्रो दृष्टिकोणको
तिम्रो कुर्सी मोहको । (पृ. २३, युद्ध)
‘सत्ताको डायरी’ यस्तै समसामयिक कविता हो । यस कविताले जनताको भान्से बन्न गएका मानिसहरू आफैँ खान मस्त छन् भन्ने विचार व्यक्त गरेको छ । सत्तामा हुँदा जनताको समस्या समाधान नगर्नेहरू विपक्षमा हुँदा वि.पी. पुष्पलाल, मदन भण्डारी, गणेशमान, आदिलाई बिर्साउने गरी आदर्शका आख्यान प्रस्तुत गर्दछन् । सर्वधारणको जीवनमा कहिल्यै अनुवाद हुन नसकेको सत्ताको डायरी तानाशाहहरूको जालझेलपूर्ण यात्रा मात्र भएको व्यहोरा कविले उल्लेख गरेका छन् । कवि ‘कारणको खोजी’ कवितामा योगमायालाई सम्झिन्छन् । जहिले पनि जनताको न्यायपूर्ण आन्दोलनको पक्षमा उभिने उनको उद्घोषले विगतलाई राम्ररी पढ्न सुझाएको छ । कारण के हो भन्ने थाहा नपाए समाधानको उपाय ननिस्कने र त्यही कारणको खोजी नै नगरेका कारण व्यवस्था वदनाम, राष्ट्र कमजोर र नागरिक निराशा देखिएका छन् ।
कवि विश्वनाथ खनालका कविताहरूमा लेखन मिति र प्रकाशन मिति नलेखिएको भएपनि कुन समय र के प्रसङ्गमा कविता लेखिए भन्ने अनुमान लगाउन प्रसस्त प्रमाणहरू भेटिन्छ । २०६२/०६३ पछाडिको स्थितिमा नेपाली जनताले चाहेको समाजवादी सत्ताको अभ्यास कसैले नगरेबाट सबै राजनीतिक दल र नेतृत्वप्रति जनताको आक्रोश बढेको तर्फ उनले तिर सोझ्याएका छन् । समाजमा सामन्तको परिभाषा दिने र समानताको नारा लगाउनेहरू खुइलिएर गएको र प्रजातन्त्र र स्वतन्त्रताको दुहाइ दिने विकसित राष्ट्र अर्कालाई मासेर आपूm हाँस्ने अभ्यासमा तल्लीन छन् । ‘सामन्त’ सत्ताको डबली, यक्ष प्रश्न जस्ता कविताले साँच्चै मानव हुनुको नाताले प्राप्त गर्नु पर्ने स्वतन्त्रता, समानता र न्यायपूर्व व्यवहारको अनुभूति गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
कवि खनालले आफ्नो समयको विषयलाई इमान्दार भएर लेख्दा अधिकांश कविताहरू राजनीति विषयमा आधारित हुन पुगेका छन् । उनको कवितामा राजनीतिले कम मार्ग लिन खोजेको हो भन्ने स्पष्ट सङ्केत पाइन्छ । मान्छे आज दिक्दार भएर झन गलत प्रतिनिधि चयनको बाटोतर्फ उन्मुख भएको छ । धैर्य बन्न सक्ने क्षमता विकास गर्न नेतृत्वले वातावरण नै दिएको छैन । माथि उल्लिखित प्रतिनिधिमूलक उदाहरण लिइएको कविताहरूको आधारमा यो कुरा भन्न सकिन्छ ।
ख. प्रकृतिको वर्णन
यस सङ्ग्रहभित्र एकतिहाइ आसपासको सङ्ख्यामा प्रवृत्ति वर्णन र प्रेममय जीवनसँग सम्बन्धित कविताहरू रहेका छन् । कवि खनालको लेखनशैलीले कच्चा पदार्थलाई राम्ररी पचाएर गुणात्मक उत्पादन गर्ने उद्योगले जस्तै समाज जीवनलाई सही बाटो र जीवनयापनका अनेक उपाय खोज्न प्रेरित गरेको छ । ‘प्रेमको हिसाब’, ‘प्रेमिल यादहरू’, ‘बा–आमाहरू’, ‘जिन्दगी, ओ मान्छे !’, ‘चरा र मान्छेहरू’, ‘आमा’, ‘विछोड’, ‘फुलहरू’, ‘संवेदना’, ‘लक्ष्मीपूजा’, ‘केही टुक्रा जिन्दगीका’, ‘प्रश्न’ आदि कविताले हाम्रो जीवनयापनका अनेक पारिवारिक सन्दर्भ, सांस्कृतिक यात्रा साथै जनमतको चेतनाको स्तरलाई नाप्न मद्दत पुर्याएको छ । कविले पोख्छन्, सोचेर पोख्छन् । उनले टिपेका टिपोट प्रत्येक पाठकको अनुभूतिसँग कतै न कतै मिलेको देखिन्छ ।
कसम खाएर आफ्नै
तिम्रो हुने रहरमा
कसैको हुन नसकेपछि
कसरी भन्न सक्छौ
तिमी मलाई
धोकेवाज । (पृ. ८६, प्रश्न)
मान्छे आँफैभित्र सङ्घर्षका अनेकानेक कथा छन् । दाम्पत्य जीवनका पलहरूपनि त्यत्तिकै शक्तिशाली सन्दर्भ बनेर देखा पर्छ । विवाहपूर्व र पश्चात पनि मान्छे प्रेमिल विषयले विक्षिप्त जस्तै बन्दछ । कवितामा उनले गरेको प्रयत्न र प्राप्ति लोभ लाग्दो छ ।
नाता भ्रम
गृहस्थी भ्रम
यावत् कमजोरी भ्रम
फेरिपनि रमाइलो जिन्दगानी (पृ. ८१, भ्रम)
खासमा भ्रम जस्तो लाग्ने वास्तविकता बोकेर जिन्दगीको यात्रा अगाडि बढी रहेको छ । ढुक्कले नचल्ने विश्वासले पनि धोका दिने अनि समस्याको तगाराले सताइरहने हाम्रो जीवनका असहजतालाई कवि कलात्मक वाणी दिन तल्लीन देखिन्छन् ।
ग) प्रेममय जीवन
कवितासङ्ग्रहको अन्तिम पातोमा कवि विनोदीले भनेझैँ कवि विसङ्गति हटाउनका निम्ति विद्रोहको राँको मात्र बाल्दैनन् उनी त प्रेममय गण्डकी बगाउने त्रासद जीवनलाई सबैका सामु देखाइदिने एउटा चित्रकार पनि हुन् । प्रेम विषयक कवितामा पनि कवि कति सजिलै सूक्तिमय कुरा सुनाउँछन् :
प्रश्न उठ्यो प्रेमको
यसको परिभाषाको
मैले भनिदिएँ
बाउको मौनतालाई सोध
आमाको सुस्केरालाई महसुस गर । (पृ. ७३, केही टुक्रा जिन्दगीका)
कवि नेपाली संस्कार र संस्कृतिको पाटोमा ‘लक्ष्मीपूजा’ कवितामार्फत निकै प्रभावकारी विचार अभिव्यक्त गर्दछन् । हाम्रो समाजमा परम्परादेखि चलिआएको संस्कार र संस्कृतिको विज्ञान र त्यसले मानव समाजलाई पुर्याएको योगदान खोज्न ढिला भएको मात्र होइन आफ्ना गजल जति अपनाउने सही विचार त्याग्ने स्थितिवोध किन भयो :
बस् ! कर्ममा विश्वास गर
बन कर्मशील
आफ्नो कर्ममा लीन होऊ
तब हुनेछ
‘लक्ष्मीपूजा’ । (पृ. ५०, लक्ष्मीपूजा)
कवि सुन्दर फूल टिपेर मूर्तिमा चढाउनेहरूलाई व्यङ्ग्य गर्दछन् । उनले प्रकृतिको महत्त्वलाई फरक सौन्दर्य बोध गर्न सक्नुपर्ने फरकै धारणा राखेका छन् :
भो नचुँड कोपिला
नटिप मुस्कुराइरहेको फूल
फक्रन देऊ उसको जीवन
चढाउनु पर्दैन भगवान्लाई
दिँदैनन् वरदान कसैलाई । (पृ. ४४, ‘फूलहरू’)
आखिर यही होला त वैज्ञानिक विचार । मान्छेलाई हिंस्रक होइन सर्जक बनाउनु पर्छ । ऊ आफैँमा भगवान् हो नि ! किन नबुझेको हो ? फूलहरू यस कविता सङ्ग्रहभित्रको एउटा शक्तिशाली कविता हो र यसले सिङ्गो कविता सङ्ग्रहको नामाकरणलाई समेत सही ढङ्गले प्रतिनिधित्व गरेको छ ।
एकपछि अर्को दुःख
कसरी उम्रन्छन् होला तिनका ओठहरूमा हाँसो
कसरी फलाउँछन् होला मुहारमा खुशी
पीडाहरूको गोदामबाट
निसृत भैरहेछन् आशीर्वाद र मायाको सरिता
बाँचि रहेछन् आदिम् कालदेखि
परदेशी छोराछोरीको निम्ति
हतभागी बा–आमाहरू । (पृ. २५, बा–आमाहरू)
आफ्नो सन्तान परदेशी भएकोमा निकै पीडा छ । बा–आमाहरूलाई बुढेसकालमा आफ्नै आँखा अगाडि देख्न पाए उनीहरूमा उत्साह जाग्थ्यो । समय धेरै कठोर बन्दै गएको छ । नेपाल जस्तो विकासमा परेको राष्ट्रले पीडालाई गुमाउँदाको पीडालाई अभिभावकका विचारमा जोडेर कहिलै एउटा गहन सन्देश दिएका छन् । आम नेपाली युवाले भने जस्तो अवसर देशमै पाउने हो भने यी आमा–बाको आँसु झर्न पाउने थिएन । वृृद्ध अवस्थामा सन्तानको मायाले रुवाउने थिएन । कवि कतै राजनीतिको खाताबाट कविता उभ्याउँछन त कतै पारिवारिक वातावरणबाट मानवीय संवेदनाको लहर उठाउन तल्लीन
देखिन्छन् । ‘सम्झना’, शीर्षकको कवितामा कविले प्रयोग गरेको प्रस्तुति शैली लोभ लाग्दो छ ।
बगिरहने नदी
दोहोरिरहने बतास
हिँडिरहने मानिस
छाडिजाने माया
सबै एक हो
आ–आफ्नै गति छन् । (पृ. १४, सम्मान)
आखिर सबैले देखेको मागेको र सम्झेको कुरा त हो, खोई त ! आपूmले यसरी प्रस्तुत गर्न सकेको ? कति गज्जबलाग्दो लयविधान छ । कवितामा नारा नभएपछि पनि कविता बन्छ अनि कविता सिङ्गो अनुभूतिको संस्था पनि त हो । कवि आपूmले देखेका कुरालाई परिस्कार गरेर कविताको माला उन्छन् । उनको प्रस्तुतिमा सङ्कथन निर्माणको संयुक्ति र संशक्तिको मेलमिलाप देखिन्छ । कवि हामी पाठकलाई प्रेमको हिसाब पारदर्शी ढङ्गले पेश गर्दछन् र एउटा परिपक्व लेखापरीक्षकले जस्तै पहिले जनअनुमोदन गरेर मात्रै कार्यालयीय लेखा प्रणालीको भाषातिर सङ्केत गर्दछन् ।
अनायास आँसु छल्कियो आँखामा
बोल्न खोज्यो गाँठो पर्यो भने मुटुमा
जति बिर्सन खोजे पनि याद आईरह्यो भने सम्झनू
हाम्रो प्रेम फस्र्यौट हुन बाँकी पेश्की रहेछ । (पृ. २, प्रेमको हिसाब)
अन्त्यमा
कवि आफ्नो सिर्जनामा कति सन्तुष्ट छन् त्यो सोधिने र खोजिने विषय होइन । नेपाली कविताको विचारधारात्मक क्षेत्रमा र मनोभावनात्मक क्षेत्रमा समेत एउटा बलशाली कविका रूपमा विश्वनाथ देखापरेका छन् । कविता सङ्ग्रह निस्कदा असीको दशक प्रवेश गरेपनि उनको फुटकर कविताको लेखन र प्रकाशनले उनलाई एउटा साधनाले खारिएको कविको रूपमा एउटै कवितासङ्ग्रह ‘फूलहरू’ बाट चिनाएको छ । गद्य कवितालाई नरुचाउने छन्दका पूजारीहरूले पनि यो कवितासङ्ग्रह पनि राम्ररी पढे भने लोभिने निश्चय छ मनमा लागेका आलोचनात्मक पक्ष भने यहाँ उल्लेख गर्नै पर्छ । यही देशको उन्नति र त्यसका लागि योजना निर्माण अनि आगामी सङ्घर्षको सल्लाह कवितामा अलि कम भएको हो र ? कविजी । पसिनाको मूल्यलाई ध्यान दिएर पढ्ने हो भने कविको समग्र कवितामा प्रगतिशील विचार र प्रकृतिको सुन्दर चर्चा साथै अभिभावको आग्रह र आह्वान स्पष्ट सङ्केत हुन्छ ।




