मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ६ घाइते

मकवानपुर । मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका-१८ भक्तिचोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको र बागमती गाउँपालिका-७ पाथिभरामा कारले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हेटौंडा-१८ भक्तिचोकस्थित हेटौंडा-धरान-चतरा सडक खण्डमा दिउँसो साढे १२ बजे दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००५ प ७२१९ नम्बरको मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका थिए ।

घाइतेमध्ये नामथर नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा बागमती-६ बस्ने ४० वर्षीय अन्तबहादुर बी.सी., हेटौंडा-१८ बस्ने ३५ वर्षीय राजु थिङ, बा.प्र.०३-००५ प ७२१९ नम्बरको मोटरसाइकलका चालक हेटौंडा-१८ बस्ने ३८ वर्षीय सूर्यमणी खतिवडा र वतन नखुलेका अन्दाजी १०/१२ वर्षीय प्रशान्त वाईबा रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, बागमती गाउँपालिका-७ पाथिभरास्थित मदन भण्डारी लोकमार्गमा सडक छेउमा रोकिराखेको ना. २ ह ४५९२ नम्बरको अटोलाई कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । हेटौंडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले अटोलाई ठक्कर दिँदा अटोमा सवार स्थानीय चिनीमाया रुम्बा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले दिउँसो साढे १ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक बागमती-८ बस्ने २५ वर्षीय यमन राई र अटोमा सवार बागमती-७ शान्तिपुरका ११ वर्षीय सुबिन पुलामी मगर घाइते भएका छन् । उनीहरूको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने कारकी चालक काठमाडौं गोकर्णेश्वर-६ बस्ने ३५ वर्षीया सुजना लामालाई इलाका प्रहरी कार्यालय फापरवारीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट