चितवन, ५ वैशाख ।
भरतपुर महानगरपालिका–९ स्थित गुरुकुल कलेजले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ‘गुरुकुल एसइई फुटसल कप’ आयोजना गर्ने भएको छ । वैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कलेजका अनुसार परीक्षा सकेपछि विद्यार्थीलाई सिर्जनात्मक र स्वास्थ्यकर गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । पछिल्लो समय युवामाझ फुटसलको लोकप्रियता बढ्दै गएकाले प्रतियोगिताले खेलकुदप्रति रुचि बढाउनुका साथै प्रतिभा पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा चितवनसहित बाहिरी जिल्लाबाट समेत टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
आयोजकका अनुसार प्रतियोगिताले एसइईपछि खाली समयलाई सकारात्मक दिशामा उपयोग गर्न प्रेरित गर्ने विश्वास लिइएको छ । साथै, विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्दै खेल संस्कृतिको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।




