सभापतिद्वारा पार्टी पुनर्जागरणका लागि एकजुट हुन आग्रह

भरतपुर, ५ वैशाख ।
सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकताबद्ध हुने वातावरण बनेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सबै नेता–कार्यकर्तालाई साझा यात्रामा अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले यो विषयलाई जित–हार नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताउँदै पार्टी सुदृढीकरणमा सबैको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सभापतिले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको जनाउँदै त्यसलाई सफल पार्दै पार्टी रूपान्तरणको अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभयो । साथै अग्रजहरूको योगदानको सम्मान र नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्दै समुन्नत नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

गगन थापाले फेसबुकमा लेख्नुभएको छ :
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।

पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ । पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ । महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ ।

अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ ।

जय नेपाल !

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट