काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा कार्यालय रहेको समस्याग्रस्त कृषि बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरूलाई रकम फिर्ता गर्न सुरु गरिएको छ । मध्यपुर थिमि नगरपालिकाद्वारा गठित सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा प्रतिबचतकर्ता १० हजार रुपैयाँसम्म फिर्ता गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो।
समितिका अनुसार हालसम्म ५३८ जना बचतकर्ताले करिब २२ करोड रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । व्यक्तिगत दाबी रकम ९० लाख रुपैयाँसम्म रहेको पाइएको छ। समितिका प्रवक्ता कृष्णप्रसाद पौडेलले हालसम्म केही ऋणीहरूबाट करिब ४५ लाख रुपैयाँ असुल भएको र अन्य ऋणीबाट रकम उठाउने प्रक्रिया जारी रहेको जानकारी दिए ।
समितिको प्रारम्भिक अनुसन्धानले सहकारीबाट करिब ७ करोड रुपैयाँ मात्र ऋण प्रवाह भएको देखाएको छ । यस्तै बाँकी १५ करोड रुपैयाँभन्दा बढी रकम सञ्चालकहरूले हिनामिना गरेको ठहर गरिएको छ। सहकारीका अध्यक्ष तेजविक्रम थापा अर्बौं रुपैयाँ ठगी र अपचलनको आरोपमा हाल नख्खु कारागारमा छन् । अन्य सञ्चालक तथा अधिकांश ऋणीहरू भने समितिको सम्पर्कमा आएका छैनन् ।
प्रवक्ता पौडेलका अनुसार सहकारीका अधिकांश कारोबार प्रमाण र कागजातहरू गायब पारिएकाले ऋण असुलीमा कठिनाइ भइरहेको छ। यद्यपि, ऋणीहरूको चलअचल सम्पत्ति रोक्का राख्ने प्रक्रिया सुरु गरिएपछि केही ऋणीहरू सम्पर्कमा आउन थालेका छन् ।
मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन, २०७९ को दफा ८२ बमोजिम गत जेठ १७ गते कृषि विकास बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै, जेठ २८ गते उच्च अदालतका पूर्व न्यायाधीश विनोद मोहन आचार्यको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको थियो ।
समितिले झापाको सुरुङ्गा र मोरङको टकुवामा सहकारीको नाममा करिब ५०० रोपनी जग्गा फेला पारेको छ । तर ती जग्गामा वर्षौंदेखि सुकुमवासीहरू बसोबास गरिरहेकाले समितिलाई जग्गा कब्जामा लिन अवरोध भइरहेको छ ।
यसरी देशभरका ७५३ स्थानीय तहमध्ये समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि यसरी समिति गठन गर्ने मध्यपुर थिमि नगरपालिका पहिलो स्थानीय निकाय बनेको छ । नगरपालिकाभित्र मात्रै १०० भन्दा बढी सहकारी संस्था दर्ता छन् ।
हाल नेपालमा करिब ३१ हजार सहकारी संस्थामा बचतकर्ताको ४ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी बचत रहेको छ। त्यसमध्ये ५०० देखि ७०० सहकारी संकटग्रस्त अवस्थामा छन् । जसकारण करिब ४५ अर्ब रुपैयाँ बचत जोखिममा परेको छ।
समितिले नगद कारोबार नगरी बैंकिङ प्रणालीमार्फत मात्रै रकम भुक्तानी गर्ने जनाएको छ । सबै बचतकर्ताहरूलाई आफ्नो पासबुक र चेक वा बैंक खाता नम्बरसहित मध्यपुर थिमि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।



