साक्ष्य : एक
रङका पर्वतहरूमा
सृजन निदाएको छ
युग
निद्रासँगको कानेखुसीमा छ
ऊ छ चरम निद्र्रामा
यही स्वप्निल दुनियाँमा
मेलापात गर्न गएको
प्रिय आत्मजको
छ तीव्र प्रतीक्षामा ।
( चिसो बाकस , पृ.६८ )
एकदेव रिमाल पचासको दशकदेखि नेपाली कविताका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । उनको पहिलो प्रकाशित कवितासङ्ग्रह चिसो बाकस २०८१ सालमा प्रकाशित काव्य हो । यो काव्य गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पहिलो कृति पनि हो । यस काव्यभित्र ५१ वटा कविताहरू रहेका छन् ।
कवि रिमाल कवितालाई नरम लालित्यमा अन्तर्मनका चापी खोल्ने औजारका रूपमा लिन्छन् । उनी कविता शास्त्रीय मान्यताका जडसूत्रीय दृष्टिबाट माथि उठनुपर्ने विचार राख्छन् । कवितामा तत्क्षणको मिठास दिन नसके पनि अमला चपाएर पिएको पानी जस्तै आफ्ना कविता स्वादिला छन् भन्ने विश्वास उनले कविताका सम्बन्धमा उल्लेख गरेका छन् ।
कविले आमालाई सम्बोधन गर्दै पहिलो कविता लेखेका छन् । आमा र तुलसीको मठ, आमाले चिया ल्याउनुभयो , लालीका बास्केटहरू , बाआमाको गुरुत्व जस्ता शीर्षक कवितामा कविले आमाबाप्रति सम्मानभाव प्रकट गर्दै हृदयस्पर्शी भाव प्रस्तुत गरेका छन् ।
आमा र तुलसीको मठ कवितामा कविले तुलसीको मठलाई सांस्कृतिक बिम्बका रूपमा प्रस्तुत गरेका छन् । कलिला सूर्य , प्रसूता धरणी , दैलाका काप , निम्छरो तुलसी आदिलाई बिम्बका रूपमा प्रस्तुत गर्दै आर्यसमाजको सनातन परम्परालाई आमाको माध्यमबाट प्रस्तुत गरेका छन् । तुलसीको जरामा पोखिएको मातृत्वको गङ्गालाई कविले नेपाली समाजको सांस्कृतिक बिम्बका रूपमा उतारेका छन् ।
साक्ष्य : दुई
अनि निस्किन्छिन् आमा
एउटा तामे अम्खारीमा
सारा गङ्गा उठाएर
पुग्छिन् आमा
आँगनको छेउमा उभिएको
निम्छरो तुलसीको मठमा ।
(आमा र तुलसीको मठ , पृ. २)
कवि रिमालका कवितामा विसङ्गत जीवनलाई नजिकबाट प्रस्तुत गरिएको छ । कविले विशेष गरी देशभित्र मौलाएका असङ्गतिलाई आफ्ना कवितामा प्रस्तुत गरेका छन् । संस्कृतिको नाममा मौलाएका असङ्गतिहरूका केही झिल्का तिज, बदलिएकी रमणी , बिस्तराले पोलेको तिज, मुर्झाएको वसन्त, हराएछ, प्राज्ञ जस्ता कवितामा पाइन्छन् ।
साक्ष्य : तीन
तिम्रा तिजका गीतहरूमा
हराएछन् बरिलैहरू
माइतीका आँगनहरू
बुच्चिएछन्
चाम्रे दाप्ने दाबिलाहरू ।
( बिस्तराले पोलेको तिज : पृ.१०४)
कवि एकदेव रिमालका कवितामा स्वच्छन्दतावादी शैलीशिल्पको प्रयोग भेटिन्छ । उनका कालीगण्डकी, साउने सङ्क्रान्ति, जून लागेका पाखाहरू, समुद्र, बगरका ढुङ्गाहरू, फूल र काँडाहरू, मेरो पहाड जस्ता कवितामा स्वच्छन्दतावादी भाव पाइन्छ । उनी प्रकृतिमा खुला रूपमा उड्न चाहन्छन् । रिमाल प्रकृतिभित्र सारा सृष्टि समाहित भएको भाव कवितामा प्रकट गर्छन् । उनी प्रकृतिलाई नै ज्ञानको पाठशाला ठान्छन् । चिसो बाकस काव्यको मुख्य स्वर पनि यही हो ।
साक्ष्य : चार
सृष्टिकी पहिला आमा हुन्
प्रिय कालीगण्डकी
उनै मेरी
अनि हाम्री कालीगण्डकी ।
( कालीगण्डकी, पृ. ७८)
कवि एकदेवका केही कवितामा प्रयोगवादी लेखन पनि पाइन्छ । सामान्यभन्दा सामान्य विषयलाई कविताका बान्की बनाउन सक्नु रिमालको कवितात्मक वैशिष्ट्य पनि हो । उनका यस प्रकारका कवितामा दार्शनिक चेतना पनि देखिन्छ । उनले कविताका पाठकलाई पौराणिक सन्दर्भमा जोडिन बाध्य पार्छन् । यसैका कारण कतिपय पाठक उनका यस प्रकारका कवितामा हराउँछन् । यस किसिमको प्रयोग उनका कपाल, म सधैँ जन्मन्छु, बगरका ढुङ्गाहरू, अनावतार, द−द−द दाम्यत्, दत्त, दयध्वम् जस्ता कवितामा पाइन्छ ।
साक्ष्य : पाँच
मनमन सोच्दछे
खै, सृष्टिको पहिलो बिहानीमा
प्रजापतिको दीक्षा
द−द−द दाम्यत् , दत्त , दयध्वम्
मिथ्या पो रहेछ कि ।
( द−द−द दाम्यत् , दत्त , दयध्वम् , पृ.७५ )
एकदेव रिमालका केही कवितामा राष्ट्रप्रेम, युगबोध, व्यङ्ग्यबोध, समसामयिक चेतका अभिव्यक्ति पनि पाइन्छन् । उनमा यस प्रकारको चेतना शालीन रूपमा प्रकट भएको देखिन्छ । चिसो बाकस, बुख्याचाहरू, माहुते, बाघ मार्ने भैँसी, षड्यन्त्र, समय जम्दा शीर्षकका कविताहरूमा पाठकले उपर्युक्त किसिमका अनुभूति गर्न पुग्छन् । उनको बुख्याचाहरू कवितामा व्यङ्ग्यबोध यसरी प्रकट भएको छ ।
साक्ष्य : छ
बुख्याचाहरू
उत्परिवर्तित भएर
अचेल
चोक र टोलमा
सडक र सदनमा
मिलिसिया बनेर
सुरक्षाको सङ्गीन थामिरहेछन् । ( बुख्याचाहरू , पृ.१०६ )
कवि रिमालको चर्चित कविता चिसो बाकस हो । यस कविताले वर्तमान नेपालको चित्र बोलेको छ । नेपालका नवयुवाहरू रोजगारीका सिलसिलामा विभिन्न देश पुगेका छन् । उनीहरूका अभिभावकहरू छोराछोरीको प्रतीक्षामा बाटो हेरिरहेका छन् । यसरी बाटो हेर्दाहेर्दै उनीहरू धर्तीबाट बिदा हुन्छन् अनि चिसो बाकसमा सन्तानको प्रतीक्षामा रहिरहन्छन् । यही भाव चिसो बाकस कवितामा अभिव्यक्त भएको छ । यो तितो यथार्थ वर्तमानको साक्षी हो ।
साक्ष्य : सात
जवानी छिचोलेर
लुडिएका मेरा छालाहरू
मक्रालिएका हस्तीहाडहरू
काँडाले घोचेका डोबहरू
युग ताडनाले घुम्रेका स्वाभिमानहरू
पुरै शीताङ्ग बनाएर
मलाई राखिदेऊ
बिजुलीको शीत बाकसमा ।
( चिसो बाकस , पृ .६८ )
समग्रमा चिसो बाकस कवितासङ्ग्रह कवि एकदेव रिमालको स्वच्छन्दतावादी शैलीशिल्प र परिष्कारवादी भाव चेतनाले भरिएको काव्य हो । नेपाली समसामयिक कविता लेखनभन्दा अलि फरक ढङ्गले कविता लेख्नु कवि रिमालको कवितात्मक प्राप्ति हो । सूक्ष्मातिसूक्ष्म विषयलाई कलाको पाइन चढाएर कविता लेख्नु कवि रिमालको मुख्य विषय हो । कतिपय कवितामा अतिशय कल्पनाशीलता र बिम्ब प्रयोगका कारण कविता सामान्य पाठकबाट टाढिएका छन् । रिमालका कविताहरूको वास्तविक आस्वादन गर्न पाठक पनि काव्यमर्मज्ञ हुनु जरुरी देखिन्छ ।





