चितवन, १४ पुस ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवन–पश्चिम चितवन इकाई नम्बर २ को प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सङ्घ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्य र वरिष्ठ उपाध्यक्ष उत्सव खाती विकको विशिष्ट आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष विश्वकर्माले सङ्घ सुनचाँदी व्यवसायीहरूको अभिभावक संस्था भएको उल्लेख गर्दै सबैको सुख–दुःखमा साथ रहने बताउनुभयो । उहाँले विलासिता शुल्क बिटुबी कायम गरिनुपर्ने र ग्रे–लिस्टको बहानामा व्यवसायीलाई दुःख नदिन सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
इकाई संयोजक अनिष विश्वकर्माको अध्यक्षतामा सम्पन्न सभाले सचिव सुभास विश्वकर्माको प्रगति र कोषाध्यक्ष कोपिला बरालीको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गर्दै तदर्थ समितिलाई पूर्ण समितिमा रुपान्तरण गरेको छ ।





