रत्ननगर, १२ पुस ।
नेपाली लेखक सङ्घ चितवनको आयोजनामा `पाठकसँग लेखक´ कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा शनिबार गरिएको कार्यक्रममा जिल्लाका तीन जना स्रस्टाका हालै प्रकाशित कृतिमाथि पाठकहरूले टिप्पणी राखेका छन् ।
कार्यक्रममा गजल मञ्च चितवनकी कोषाध्यक्ष सरस्वती पौडेलको `प्रत्यूष´ गजलसङ्ग्रहका बारेमा मञ्चका अध्यक्ष रामकृष्ण अनायासले टिप्पणी राखे । प्रत्यूष गजलसङ्ग्रहका गजलहरू समसामयिक विषयमा लेखिएका र गहन भावका भएको अनायासले बताए ।
त्यसैगरी नेपाली लेखक सङ्घकी सदस्य मेनका चापागाईं काप्रीको कवितासङ्ग्रह `मनको अदालत´का बारेमा शोभा न्यौपानेले पाठकीय टिप्पणी प्रस्तुत गरिन् । मनको अदालतभित्रका कविताहरू सन्देशमुलक भएको न्यौपानेले बताइन् । मेनकाका कवितामा भाव र बिम्बको सुन्दर संयोजन भएको र नयाँपुस्ताका लागि प्रेरणादायी भएको न्यौपानेले बताइन् ।
त्यसैगरी कमल अर्यालको `सिलायात्रा´ पुस्तकमाथि प्राध्यापक चेतराज रेग्मीले टिप्पणी राखे । रेग्मीले अर्यालका सम्पूर्ण कृतिको चिनारी गराउँदै सिलायात्रा खोजमुलक कृति भएको बताए । लेखक अर्यालले खोज र अनुसन्धान गरेर चितवनको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्वको कृति प्रकाशन गरेको रेग्मीले बताए ।
कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि र कवि, निबन्धकार गायत्री श्रेष्ठ विशिष्ट अतिथि थिए । उपाध्यक्ष लेखराम सापकोटाले स्वागत मन्तव्य राखेका थिए । शान्ति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव सामना पहाडले सहजीकरण गरेकी थिइन् ।





