ललितकलासम्बन्धी पाँचदिने प्रदर्शनी माघमा

गैँडाकोट, ८ पुस ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा माघ १५ गतेदेखि पाँच दिनसम्म गैँडाकोटमा ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ आयोजना हुने भएको छ । आयोजकद्वयले मङ्गलबार गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी दिएका हुन् ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले प्रदर्शनीमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय ५० जना कलाकारहरुको सहभागिता रहने जानकारी दिए । सातवटा प्रदेशमा छुट्टछुट्टै आयोजना हुने ललितकला प्रदर्शनीका कलाकृतिहरु आगामी वर्ष जेठ १५ गते काठमाडौँमा प्रदर्शनी गरिने र सर्वोत्कृष्ट एकजना कलाकारलाई एक लाख रुपैयाँ पुरस्कार दिइने थुम्केलीले बताए ।

विभिन्न आठवटा विधामा प्रतिष्पर्धा हुने प्रदर्शनीमा राष्ट्रियरूपमा उत्कृष्ट हुने एकजनालाई ६० हजार, सात प्रदेशका विधागतरूपमा उत्कृष्ट ५६ जनालाई जनही ३० हजार र सात प्रदेशका नवप्रतिभा (१६ देखि १८ वर्ष उमेर समूहबाट) सात जनालाई जनही ५० हजार रूपैयाँ पुरस्कार दिइने छ । ‘एक जना कलाकारले एकै विधामा वा दुई फरक विधामा गरी अधिकतम दुई वटासम्म कलाकृति प्रदर्शन गर्न सक्नेछन्’ थुम्केलीले भने ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनलाई उपकुलपति भीम शर्माले सहजीकरण गरेका थिए । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठ, गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी एवं नगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव रामप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट