गैंडाकोट, ८ पुस ।
कालिका संस्कृत विद्यापीठ गैंडाकोटमा अनुसन्धान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनुसन्धान व्यवस्थापन समिति कालिका संस्कृत विद्यापीठको आयोजना तथा नेपाली तथा अङ्ग्रेजी विभागको संयोजनमा शास्त्री तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रारम्भिक चरणको अनुसन्धान लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अनुसन्धान व्यवस्थापन समितिका संयोजक तथा पूर्व प्राचार्य सहप्राध्यापक डाक्टर रामचन्द्र कँडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यापीठका प्राचार्य डाक्टर केशवराज चालिसेले अनुसन्धानको आवश्यकता र औचित्यताका बारेमा प्रष्ट पार्दै अनुसन्धान एउटा जीवन पद्धति रहेको कुरा व्यक्त गरे । कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका नेपाली विभागका सहप्राध्यापक डाक्टर एकनारायण पौड्यालले अनुसन्धान प्रस्ताव लेखन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै अनुसन्धानका बारेमा उठेका जिज्ञासाहरूको समाधान गरेका थिए । कार्यक्रममा विद्यापीठमा प्राध्यापनरत प्राध्यापकहरू तथा अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाली तथा अङ्ग्रेजी विभागका अध्यक्ष उपप्राध्यापक पिताम्बर सापकोटाले गरेका थिए । अनुसन्धान लेखनका लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण र फलदायी रहेको कार्यक्रममा सहभागी गणेश भण्डारीले बताए ।
यस्ता कार्यक्रमहरू निरन्तर रूपमा हुन सके विद्यार्थीहरूलाई अनुसन्धान र अन्वेषणका लागि थप ऊर्जा प्राप्त हुने विचार अर्का सहभागी स्मृति टण्डनले व्यक्त गरिन् । कालिका संस्कृत विद्यापीठका स्ववियु उपसभापति मिलन पराजुलीले कार्यक्रमले विद्यार्थीहरूको लेखन र अनुसन्धानमा अभिरुचि जगाएको विचार व्यक्त गरे । कालिका संस्कृत विद्यापीठ पूर्वी नवलपरासीको एउटै मात्र आङ्गिक क्याम्पस हो ।





