ओझेलको इतिहासलाई उजागर गर्दै ‘बखान’ उपन्यासमाथि बहस

चितवन, ४ पुस ।
चितवनको इतिहास, बस्ती विकास तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट औपचारिक चर्चा–परिचर्चा सुरु भएको छ । स्थानीय तहको पहलमा पहिलोपटक उक्त कृतिमाथि सार्वजनिक बहस थालिएको हो ।

भरतपुर महानगरपालिका–२५ को प्रबर्द्धनमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । थारु पत्रकार संघ चितवन र सुधापुन्ज साहित्य समितिको सहकार्यमा आयोजित कार्यक्रममा उपन्यासले चितवनको बस्ती विकास, पर्यटन प्रवर्द्धन तथा प्रजातन्त्र प्राप्तिमा बखानसिंह गुरुङले खेलेको ऐतिहासिक भूमिकालाई सशक्त रूपमा उजागर गरेको निष्कर्ष निकालिएको छ ।

उपन्यासमाथि समीक्षात्मक धारणा राख्दै डा. सञ्जय महतोले चितवनको बस्ती विकासदेखि आदिवासी थारु समुदायको संस्कृति र जीवनशैलीलाई सन्तुलित र सजीव ‘सेटिङ’का साथ प्रस्तुत गरिएको बताउनुभयो । राप्ती दून परियोजनामार्फत बाँझो जमिनलाई उर्बर बनाउने कार्यमा बखानसिंह गुरुङले खेलेको भूमिकालाई उपन्यासले सुन्दर ढंगले चित्रण गरेको उहाँको भनाइ थियो ।

“यो उपन्यास धेरै हिसाबले सबल छ,” डा. महतोले भन्नुभयो, “सहकारी र कृषिलाई जोडेर आजको विकसित चितवन कसरी निर्माण भयो भन्ने ऐतिहासिक पृष्ठभूमि प्रभावकारी रूपमा उठान गरिएको छ । यद्यपि, इतिहासको चर्चा गर्दा थारु समुदायसँग सम्बन्धित मिथकहरूमा अझ थप अध्ययन आवश्यक देखिन्छ ।”

त्यस्तै, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समुदायस्तरमै पुगेर गरिएको यो समीक्षा ‘रोबर्टियन शैली’को गहिरो अप्रेसनजस्तै भएको टिप्पणी गर्नुभयो । लेखकले इतिहासलाई समाजसँग जोड्दै पुनः ऐतिहासिकरण गर्न सफल भएको उहाँको धारणा थियो । लामो समयसम्म ओझेलमा परेका प्रजातन्त्र सेनानी बखानसिंह गुरुङको योगदानलाई आख्यानमार्फत दस्तावेजीकरण गर्नु उपन्यासको ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा ‘बखान’ जस्ता कृतिहरू पाठ्यक्रममै समावेश गर्नुपर्ने बहस समेत उठेको थियो । इतिहास बिर्सिएर वर्तमानमा बाँच्न नसकिने उल्लेख गर्दै स्थानीय समुदायले नयाँ पुस्ताले यो पुस्तक अध्ययन गरेमा बहुआयामिक ज्ञान आर्जन गर्न सक्ने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमका अवसरमा ‘बखान’ उपन्यासका लेखक बसन्त पराजुलीलाई सम्मान गरिएको थियो । भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले स्थानीय भावना र इतिहास समेटिएको कृतिबारे स्थानीय स्तरमै छलफल आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
यसै अवसरमा वडाभित्रका जेष्ठ नागरिकहरूलाई समेत सम्मान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट