रत्ननगर, १३ असार ।
रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक पत्रिका ‘रत्नप्रभा’ को तेस्रो अङ्क सार्वजनिक गरिएको छ। प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक, वडा नं. ५ का अध्यक्ष बालकृष्ण चापागाईं, वडा नं. ६ का अध्यक्ष किरण महतो तथा साहित्यकार इन्द्रप्रसाद रेग्मीले संयुक्त रूपमा पत्रिकाको विमोचन गर्नुभएको हो ।
नवीन अङ्कमा विविध साहित्यिक सिर्जनासँगै चितवनको इतिहास, संस्कृति र पहिचानसम्बन्धी लेखरचना समेटिएका छन् । जिल्लाभित्रका मात्र होइन, बाहिरी जिल्लाका स्रष्टाहरूका रचनासमेत प्रकाशित गरिएको प्रतिष्ठानले जनाएको छ । नगरपालिकाका उपप्रमुख पाठकले प्रतिष्ठानले सकारात्मक सोच र चिन्तनलाई
आधार मानेर पठन संस्कृतिको प्रबर्द्धन हुनेगरी काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले पत्रिकाको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । साहित्यकार डिआर पोखरेल, उदय अधिकारी, प्राडा कृष्णप्रसाद पौडेल र बालकृष्ण थपलियालगायतले शुभकामना व्यक्त गर्दै रत्ननगर वाङ्मय प्रतिष्ठानले पूर्वी चितवन मात्र नभई समग्र चितवनको साहित्य संरक्षण र विकासमा उल्लेखनीय योगदान पुर्याएको बताएका थिए ।
कार्यक्रममा विष्णुप्रसाद पौडेल अपरिचित, रामलाल कुमाल, राजेन्द्र घायल, गोकर्ण मल्ल, रमा अधिकारी, गिरिराज अधिकारी, गीता लामिछाने, सत्यदेव न्यौपानेलगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए ।





