शुक्रनगरमा साहित्य गोष्ठी, `बखान´ उपन्यासको विमर्श

भरतपुर, ४ मङ्सिर ।
जेष्ठ नागरिकका अनुभव, योगदान र साहित्यिक साधनालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना गरिएको जेष्ठ नागरिक साहित्यिक गोष्ठी एवम् सम्मान तथा रचनावाचनसहित किताब परिचर्चा कार्यक्रम भव्य, सभ्य र अर्थपूर्ण रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम थारू पत्रकार संघ नेपाल शाखा चितवन तथा सुधा पुञ्ज साहित्य समिति, भरतपुर–२५, चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको प्रवर्द्धक भरतपुर महानगरपालिका वडा नम्बर – २५ रहेको थियो ।

भरतपुर महानगरपालिका – २५ को सभा मञ्चमा आयोजित कार्यक्रमको अध्यक्षता सुधा पुञ्ज साहित्य समितिका अध्यक्ष  रूद्रप्रसाद अभागी अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका – २५ का वडा प्रमुख छविलाल सापकोटाको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्व गा.वि.स. अध्यक्ष एवम् पूर्व वडा अध्यक्ष भरतपुर–२५ का विजय भुजेल सहभागी हुनुभएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले जेष्ठ नागरिक समाजका जीवित इतिहास भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जेष्ठ नागरिकका भोगाइ, अनुभव र ज्ञान भावी पुस्ताका लागि मार्गदर्शक हुन् । यस्ता साहित्यिक गोष्ठीहरूले उनीहरूको योगदानलाई सम्मान गर्नुका साथै समाजलाई नै समृद्ध बनाउँछन् ।” वडा कार्यालयले यस्ता सिर्जनात्मक र सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि सापकोटाले स्वागत मन्तव्य दिँदै थारू पत्रकार संघ चितवन साथै सुधा पुञ्ज साहित्य समितिले साहित्य, संस्कृति र सामाजिक चेतनाको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई केवल सम्मानको पात्र मात्र नभई ज्ञान र अनुभूतिको स्रोतका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “जेष्ठ नागरिकको सम्मान गर्नु भनेको हाम्रो संस्कार र सभ्यताको सम्मान गर्नु हो,” उहाँको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन तथा उद्घोषण थारू पत्रकार संघ चितवनका अध्यक्ष मनोज थारूले गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्देश्य, संरचना र गतिविधिबारे जानकारी गराउँदै साहित्य र पत्रकारिताको सहकार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । वक्ताहरूमा पूर्व गा.वि.स. अध्यक्ष एवम् पूर्व वडा अध्यक्ष विजय भुजेल, शुक्रनगरका पूर्व प्रधानपञ्च धनप्रसाद श्रेष्ठ, कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री तथा बछौली साहित्य समाजका अध्यक्ष धनराज गिरी रहनुभएको थियो ।

वक्ताहरूले साहित्यले समाजलाई जोड्ने काम गर्ने, जेष्ठ नागरिकका अनुभव र स्मृतिहरू साहित्यिक कृतिमार्फत सुरक्षित गर्नुपर्ने तथा नयाँ पुस्तालाई लेखन र सिर्जनामा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा वसन्त पराजुली कृत उपन्यास ‘बखान’को विस्तृत परिचर्चा तथा समीक्षा सम्पन्न भयो । उक्त कृतिमाथि काठमाडौं युनिभर्सिटीका प्राध्यापक डा. सञ्जय चौधरीले समीक्षकका रूपमा गहन विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले ‘बखान’ उपन्यासले समाजका सूक्ष्म यथार्थ, मानवीय संवेदना र जीवनका जटिल पक्षलाई सशक्त रूपमा उजागर गरेको बताउँदै कृतिको भाषा, शिल्प र कथावस्तुको प्रशंसा गर्नुभयो । उहाँको समीक्षाले कार्यक्रममा साहित्यिक गहिराइ थपेको सहभागीहरूको प्रतिक्रिया थियो ।

यसै अवसरमा कविता वाचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम पनि सम्पन्न भयो । कविता तथा रचना वाचन गर्ने स्रष्टाहरूमा सूर्यप्रकाश जमरकट्टेल, देवदत्त अधिकारी, अञ्जना भण्डारी, धनराज गिरी, तुलसी रमण रेग्मी, हरिराम पौडेल, तथा प्राज्ञ चन्द्रमणी महतो (माडी नगरपालिका) रहनुभएको थियो । स्रष्टाहरूले जेष्ठ नागरिक, जीवन दर्शन, समाज र मानवीय संवेदनामाथि केन्द्रित रचनाहरू वाचन गर्दा कार्यक्रमस्थल भावुक र सजीव बनेको थियो ।

त्यसैगरी जनज्योति माध्यमिक विद्यालयका तीन जना विद्यार्थीहरूद्वारा कविता र गजल वाचन प्रस्तुत गरिएको थियो, जसले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि र सम्भावनालाई उजागर गरेको उपस्थित अतिथिहरूले प्रशंसा गरेका थिए ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका करिब दुई दर्जन समाजसेवी तथा जेष्ठ नागरिकहरूलाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरूलाई उपस्थित सबैले ताली बजाउँदै सम्मान प्रकट गरेका थिए । सम्मानले आफूहरूलाई अझै सक्रिय र प्रेरित बनाएको अनुभूति जेष्ठ नागरिकहरूले व्यक्त गरेका थिए ।

समापन सत्रमा आयोजक संस्थाहरूले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै अतिथि, स्रष्टा, सहभागी, प्रायोजक तथा सहयोगीप्रति आभार व्यक्त गरेका थिए । समग्रमा साहित्य, सम्मान र सिर्जनाको संगम बनेको यस कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मानको संस्कारलाई मजबुत बनाउनुका साथै स्थानीय साहित्यिक गतिविधिलाई नयाँ ऊर्जा प्रदान गरेको निष्कर्ष सहभागीहरूले निकालेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट