काठमाडौँ, २२ मङ्सिर ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेश समितिको संगठन प्रमुखमा लोक तथा दोहोरी गायक नेत्रजी पन्त निर्वाचित भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न प्रतिष्ठानको सातौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पन्त बागमती प्रदेश संगठनको प्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
झण्डै तीन दशकदेखि अनवरत लोक तथा दोहोरीगीतको क्षेत्रमा लागिपरेका पन्त स्टेज र दोहोरी साँझमा रोजाईमा पर्दै आएका गायक हुन् । उनका थुप्रै गीतहरु स्रोता दर्शक माझ लोकप्रिय छन् ।
गायक पन्तका `सुख लुक्छ, दु:ख लुक्दैन´, भाग्य देखिन्छ र ?´, बाबा स्वर्गीय, आमा पोईला गई´, `मलाई थाहा छैन´, `व्यर्थै गाल पाईयो´, `विदेश´, `लिन आउँछु है त दिदै´लगायतका गीतहरु निकै रुचाईएका छन् ।
अधिवेशनबाट अध्यक्षमा बालकुमार मल्ल, वरिष्ठ उपाध्यक्षमा भीम कार्की, उपाध्यक्षमा बलबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा अमर थिङ, महिला उपाध्यक्षमा चन्द्रकला घिमिरे, सचिवमा योगेश लामा र कोषाध्यक्षमा राजकुमार रिजाललगायत ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नम्वर-१६, नयाँबजारमा कार्यालय रहेको प्रतिष्ठानले विगतदेखि नै नेपाली लोक तथा दोहोरीगीत सम्बद्ध कलाकार, गायक–गायिका, स्रष्टा र समुदायलाई एकै संरचनामा जोड्दै आईरहेको छ ।
लोक तथा दोहोरीगीतलाई संरक्षण गर्ने, यसको परम्परा जोगाउने र नयाँ पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्ने यो संस्थानेपाली लोकसंगीत र सांस्कृतिक पहिचानको संरक्षक, प्रवर्द्धक र संरचनात्मक भूमिका निर्वाह गर्ने एक गैर नाफामूलक संस्था हो ।
लोक तथा दोहोरीगीतको सांस्कृतिक मूल्य कायम राख्नु, सामूहिक रूपमा गुणस्तरीय, मर्यादित र मौलिक सांगीतिक रचनाहरू निर्माण / प्रवर्द्धन गर्नु यो संस्थाको मुल उद्देश्य हो ।





