भरतपुर, २० मङ्सिर ।
सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलद्वारा आयोजित Sunrise MUN 2.0 अन्तर्राष्ट्रिय बहस सम्मेलन १०५ जना प्रतिनिधिहरूको सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ । विश्वका विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै सहभागीहरूले तीन दिनसम्म बहस, कूटनीति, छलफल र नेतृत्व क्षमता प्रस्तुत गर्दै विभिन्न मुद्दाहरूमा सक्रियतापूर्वक सहभागी भए ।
कार्यक्रम पाँच वटा अलग–अलग समितिहरूमा सञ्चालन गरिएको थियो, जसमा निम्न एजेन्डाहरूमा छलफल गरिएको थियो :
• ILO: अटोमेशन र ग्लोबलाइजेशनका चुनौतीहरू सामना गर्न श्रम नीतिहरू परिमार्जन गर्ने उपाय
• UNHRC: डिजिटल युगमा युवाको मानसिक स्वास्थ्य संरक्षण
• UN Women: डिजिटल माध्यमबाट तथा डिजिटल माध्यममा महिलामाथि हुने हिंसा
• UNSC: लामो समयदेखि चल्दै आएका द्वन्द्वग्रस्त क्षेत्रहरूमा सशस्त्र गैर–राज्य पक्षहरूको प्रभाव कम गर्ने रणनीतिक उपाय
• UNEP: प्लास्टिक प्रदूषण अन्त्यका लागि अन्तर्राष्ट्रिय कानुनी रूपमा बाध्यकारी संरचनातर्फ
सम्पूर्ण समितिहरूमा प्रभावशाली छलफल भएको यस सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई बेस्ट डेलिगेट, आउटस्ट्यान्डिङ डेलिगेट र स्पेशल मेन्सन शीर्षकमा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि प्राध्यापक डा. केशवराज चालिसे रहनुभयो भने समापन समारोहका प्रमुख अतिथि हेमराज शर्मा हुनुहुन्थ्यो ।
पूरै कार्यक्रम सनराइज इन्टरयाक्ट क्लबका अध्यक्ष लोकन कार्कीको नेतृत्वमा सञ्चालन तथा श्री कृतज्ञ आचार्य को संयोजनमा भएको थियो, जसले Sunrise MUN 2.0 लाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेले ।
तीन दिनसम्म चलेको सनराइज MUN 2.0 ले युवाहरूलाई विश्वब्यापी सोच, कूटनीतिक संवाद, र जिम्मेवार नेतृत्वका मूल्यहरू सिकाउने प्रभावशाली मञ्च बनेको छ ।





