गैंडाकोट, २० मङ्सिर ।
त्रिवेणी सूर्यभक्त-पतनादेवी स्मृति वाङमय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिएको छ ।
रु. ३३,३३३/- नगद राशि र सम्मानपत्रसहित वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन)लाई गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए ।
त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा त्रिवेणी गोभिरा कला पुरस्कार चित्रकार लालकाजी लामालाई रु २५ हजार नगद राशिसहित सम्मान पत्र र रु १५ हजार नगद राशिको त्रिवेणी होमनाथ-भगवती कला-वाङमय पुरस्कार पोखराका वरिष्ठ चित्रकार गोपाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा मृत्युपर्यन्त उनका छोरा गैंडाकोट नगरपालिकाका नगरप्रमुख एवं कांग्रेस नेता मदनभक्त अधिकारीले सूर्यभक्त पतनादेवी स्मृति वाङमय पुरस्कारको स्थापना गरेका थिए ।





