रत्ननगर, २० मङ्सिर ।
पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू क्यपिटल कलेजमा भूतपूर्व विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिएको छ ।
कलेजका प्राचार्य भूपेन्द्र धितालको प्रमुख आतिथ्यमा बसेको भूतपूर्व विद्यार्थी र कलेज प्रशासनबीचको संयुक्त भेलाले सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा प्रह्लाद पन्त (ब्याच २०५७), उपाध्यक्षमा रञ्जिता पण्डित, सचिवमा केशव चालिसे तथा सदस्यहरूमा सरोज पौडेल, सपना पाण्डे, प्रवीण बर्तौला र समीर चालिसे चयन हुनुभएको छ ।
कार्यक्रममा कलेजका सहायक प्राचार्य ठाकुरप्रसाद पनेरु, डा. सञ्जयकुमार शाह, डा. ताराप्रसाद ढुङ्गाना तथा भूतपूर्व विद्यार्थी डा. देवेन्द्र आचार्यको विशेष उपस्थिति रहेको थियो ।
समितिको गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य धितालले भूतपूर्व विद्यार्थी संघले कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप सुमधुर बनाउने, सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्ने तथा शैक्षिक गुणस्तर प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नवगठित समितिले छिट्टै संरचना विस्तार, सदस्यता वितरण र विधान निर्माणको कामलाई तीव्रता दिने अध्यक्ष प्रह्लाद पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा सपना पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहायक प्राचार्य ठाकुरप्रसाद पनेरुले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थी उदित अर्यालले गर्नुभएको थियो ।





