भरतपुर, २० मङ्सिर ।
श्रम संस्कृति पार्टीले आइबार चितवनमा जनसभा गर्ने भएको छ । नारायणी नदी किनारमा हुने सभालाई सो पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले सम्बोधन गर्ने जनाइएको छ ।
श्रम संस्कृति पार्टीले सभा गर्ने स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी सभाको तयारीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सो पार्टीका जिल्ला अध्यक्ष चन्द्रबहादुर तामाङले जनसभा सुरु हुनुपूर्व नारायणगढको लायन्सचोकबाट र्याली निकाल्ने तयारी गरिएको बताए । उपाध्यक्ष लेखबहादुर पुनले जिल्लामा संगठन विस्तार र श्रमदानको महाअभियानको शुभारम्भ स्वरुप नारायणी नदी किनारमा जनसभा आयोजना गरिएको बताए ।
सभामा पार्टी अध्यक्ष साम्पाङले पार्टी स्थापनाको उद्देश्य, कार्यदिशा, संगठन विस्तार र आगामी निर्बाचनलाई केन्द्रीत गरी सम्बोधन गर्ने उपाध्यक्ष पुनले बताए । पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका जिल्ला सल्लहाकार शिव शर्माले मातृभूमिको रक्षाको लागि श्रम संस्कृति पार्टीको जन्म भएको भन्दै माटोको रक्षाको लागि पार्टी गोलबद्ध हुन आग्रह गरे ।
पत्रकार सम्मेलनमा जिल्ला कार्यसमितिका सचिव माधव पुन, कोषाध्यक्ष टेकबहादुर गुरुङ सहितका नेता कार्यकर्ताहरु उपस्थित थिए ।





