चितवन, १५ मङ्सिर ।
चितवनमा एकजना शिक्षिकाले आफ्नो जन्मदिन विद्यार्थीसँग मनाएकी छन् । श्री आधारभूत विद्यालय वनकट्टा कालिका नगरपालिका पदमपुरकी शिक्षिका सुमित्रा गैरेले आफ्नो जन्मदिनको अवसरमा कक्षा ३ देखि ८ सम्मका सबै विद्यार्थीलाई बालपत्रिका `मुना´ उपलब्ध गराएकी छन् ।
मुना वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले शिक्षिका गैरेलाई खादा र फूलले सम्मान गरेका थिए । `आफ्नो जन्मदिनमा आफ्ना विद्यार्थीलाई पढ्ने किताब उपलब्ध गराएर शिक्षिका गैरेले रचनात्मक काम गर्नुभएको छ´, प्रधानाध्यापक तामाङले बताए ।
पठन संस्कृति अभियन्ता लेखराम सापकोटाले मुनालगायतका पत्रपत्रिका र पुस्तक पढेर सिर्जनशील बन्न विद्यार्थीलाई आग्रह गरे । सामाजिक व्यक्तित्व सन्तोष मजाकोटीले यस विद्यालयमा लायन्स क्लब अफ भरतपुरमार्फत विभिन्न सन्दर्भमा शैक्षिकसामग्री उपलब्ध गराइनुका साथै स्वास्थ्य जाँचसमेत गरिएको बताए ।

शिक्षिका गैरेको संयोजनमा यसै विद्यालयको नजिकै रहेको आधारभूत विद्यालय गड्यौलीका विद्यार्थीलाई पनि मुना पत्रिका उपलब्ध गराइएको छ ।




