गजल
देश छोडेर विदेश जानेहरूको लहर कहिलेसम्म
यो देशमा बस्न सकिँदैन भन्ने ठहर कहिलेसम्म
रिन तिर्न नसकेर अत्तालिएका बाको हातमा
एकातिर तमसुक, अर्कोतिर जहर कहिलेसम्म
बुझ्नुपर्नेलाई बुझाउँदा हो, म अबुझ बनेको पनि
मौनता पढेर बुझोस् भन्ने मेरो रहर कहिलेसम्म
स्कुलब्याग बोकेकी छोरी कन्सल्टेन्सी पुगिरहन्छे
युरोप अमेरिकाहरू, सपनाको शहर कहिलेसम्म
देश फेरिन्छ शासन फेरिएपछि भनेरै कुरेको हो
बेरोजगारी र अस्तव्यस्तताको कहर कहिलेसम्म




