नवलपरासी, १२ मङ्सिर ।
साहित्य परिषद्, नवलपरासीले शुक्रवार स्रष्टा सम्मान एवम् विशेष रचनावाचन कार्यक्रम गरेको छ । परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको सभापतित्व र नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा लुम्बिनी मावि सुनवलको सभाहलमा कार्यक्रम गरिएको हो ।
प्रत्येक वर्ष कलासाहित्यकर्मीहरूलाई सम्मानित गर्दै आएको परिषद्ले यस वर्ष साहित्य परिषद् लोकदोहोरी सम्मानबाट लोकगायक भूपराज न्यौपाने, साहित्य परिषद् सङ्गीत सम्मानबाट गमबहादुर हमाल र साहित्य परिषद् वास्तुसम्मानबाट चमबहादुर थापालाई सम्मान गरेको हो ।
विशेष वाचनमा सरु ज्ञवाली र उद्धव देवकोटा (रुपन्देही), लेखराम सापकोटा र सीतादेवी पौडेल (पूर्वी नवलपरासी), हरि भट्टराई (पाल्पा) र पश्चिम नवलपरासीबाट तिलक भट्टराई ‘अन्जान’ तथा विन्दु खनाललाई आमन्त्रण गरिएको थियो ।
विविध विषयवस्तुका अनौठा स्वादका कविता, गजल, मुक्तक पस्किएर स्रष्टाहरूले कार्यक्रमलाई आकर्षक बनाएका थिए । कपिलदेव पङ्गेनीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा श्यामकला भण्डारी, खुमन पराजुली, डी.आर. न्यौपाने ‘सूर्य’, कमला भण्डारी ढकाल, कुसुमाकर ढकाल ‘कृष्ण’, मुक्ति तिवारी, जगन्नाथ न्यौपाने, तुलसीराम पाण्डे, विश्वजित गुप्ता ‘विशाल’लगायत सयभन्दा बढी स्रोताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम भविश्वर पराजुलीको सहजीकरणमा सञ्चालन भएको थियो ।




