बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई दिइने

मकवानपुर, ९ मङ्सिर ।
यस वर्षकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार किरण खरेल सम्मानित हुने भएका छन् । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले पत्रकार भेटघाट मार्फत १७ औं संस्करणकाे १ लाख रुपैयाँ राशिकाे उक्त पुरस्कार खरेललाई प्रदान गर्ने जानकारी दिएको हो ।

आगामी माघ १५ गते बिहीबार हेटौंडामा सांगीतिकसहितकाे कार्यक्रम गरी गीतकार खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाइरहनुभएका गीतकार खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । ‘ए दूरका सितारा..’ बोलको गीत उनकाे पहिलाे रचना हाे । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । खरेलले माइतीघर लगायत एक सयभन्दा बढी चलचित्रका लागि गीत रचना गरेका छन् ।

चारवटा गीत संग्रह प्रकाशित गरेका खरेलले तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालको कार्यक्रम निर्माता तथा सञ्चालकको रुपमा जिम्मेवारी सम्हालेका थिए । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न पुरस्कार एवम् विभूषणबाट विभूषित खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्न लागेको जनाएको महासचिव छवि अनित्यले बताए । गीतकार खरेलका माइतीघर, जिन्दगीलाई जीत होइन, हिमालको काखमा छ मेरो सानो गाउँ, मन्दिरमा छ कि मूर्तिमा माया, तारामात्र होइन तिमीलाई लगायतका गीतहरू सदाबहार रुपमा उत्तिकै चर्चामा छन् ।

व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले विसं २०६४ मा आफ्नी ममतामयी माता बिजुलीमाया वनः श्रेष्ठको नाममा ५० हजार रुपैयाँ राशीकाे अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कारबाट सर्वप्रथम विसं २०६४ मा संगीतकार अम्बर गुरुङ सम्मानित भएका थिए । पुरस्कारको रकम वृद्धि गरी २०६७ सालदेखि एक लाख रुपैयाँ बनाइएको उक्त पुरस्कारबाट हालसम्म गायक तथा संगीतकर्मीहरु प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाह सम्मानित भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट