लेट्स टकको ९९ औँ शृङ्खलामा तीन जनाको कवितावाचन

भरतपुर, ६ मङ्सिर ।
लेट्स टकको ९९ औं शृङ्खलामा कवितावाचन कार्यक्रम गरिएको छ । शनिबार बिहान भरतपुरमा आयोजना गरिएको कार्यक्रममा कवि जीवन युगीन, राधा कोइराला र परिवेश मुन्छेले कविता प्रस्तुत गरे ।
कार्यक्रमको सुरुवातमा कवि परिवेश मुन्छे प्रस्तुत भए । उनले शुक्रबार´, `कर्कश´, बिरासतका डामहरू´, आउ, हामी फूल बनौं´, अनुत्तरित प्रश्न´ र `होमो सेपियन्सको अन्डरवेयर´ गरी ६ वटा कविता सुनाए ।

उनले पहिलो कविता `शुक्रबार´लाई बाचन गरे ।

पहिले–पहिले
हाम्रा बा —
गाउँका औँसीका
रुढीवादी रातहरूको
हल खोज्न शहर पस्थे ।

तर अचेल म
यो शहरको कोठाको
अन्धकार छल्न,
हरेक शुक्रवार गाउँ पस्छु ।

परारै,
तिहारमा देउसी–भैलो खेलेर
उठेको पैसाले हालेका पोलका बत्तिहरू
अझै पनि चम्किरहेछन् ।

तर,
शहरका पोलका बत्तिहरू मुनि
जब उभिन्छु —
आफ्नै छायाँमा पनि
मिसिएको पाउँछु
डर–डरको धुँवा ।

कुनै आवाराले हानेको
ढुङ्गाले फुटेका यी विजुलीका
घायल चिमहरूमा
झुण्डिएको पाउँछु
आफ्नै उपेक्षित सपनाहरू…

शहर — आवारा हो,
जो ताकिरहन्छ
मूल्य र महँगीका ढुङ्गाहरू
मेरै बाको गाउँतिरै !

बाले बिछ्याएका
ढुङ्गाका छपनीको बाटो हुँदै
आइपुगेको हुँ म पनि यहाँ ।
तर —
हुर्रिन्छु हरेक शुक्रवार,
त्यही बा’कै गाउँतिरै…

गाउँ फर्किरहँदा लाग्छ —
अहो !
शहरले कति छिट्टै
मान्छेलाई ढुङ्गा बनाउँदो रहेछ !

त्यसपछि कवि राधा कोइराला प्रस्तुत भइन् । कोइरालाले `हतारै त हो´, `मोजको जिन्दगानी´, छन्द´, तिमी, आमा भनी बोलिदेऊ´, जीवनोपरान्त´ र `झुलभित्रको लामखुट्टे´ गरी ६ वटा कविता सुनाइन् ।

उनले केही कवितालाई छन्दोवद्द प्रस्तुत गरिन् ।

फुल्थे आँगनमा सुवासित जुही जाइ  चमेलीहरु
सैपत्रीहरू खुल्दथे डिलभरि चम्पा र बेलीहरु
यै प्यारो घरमा तिमी नयनका नानीसरि खेल्दथ्यौ
हे मेरा प्रिय  सन्तति पीयुषझैँ आमा भनी बोल्दथ्यौ

जन्मी हुर्की बढ्यौ यही गुँड थियो संसार अट्ने तर
बिस्तारै अलि साँघुरो हुन गयो छाडी गएछौ पर
किन्तु यी  ममता बसिन् गुँड कुरी सन्तान टाढा भए
झल्के नित्य मिठामिठा  विगतका ती दिन गाढा भए

देखेथेँ सपना मिठो शिशु बनी खेलिरहेका थियौ
आमा खान दिनु भनेर नगिचै बोलिरहेका थियौ
देखियौ  सपनाभरि प्रिय  तिमी त्यो स्वप्न मीठो थियो
लेखियौ मुटुमा सदैव रसिलो वात्सल्य मीठो थियो

प्यारा दिन थिए भनी विगतका सम्झी बसेकी म छु
आँखा छन् धमिला उमेर पनि ता ढल्की बसेकी म छु
दुख्छ्न् ढाड घुँडाहरु करकरी फुस्रो छ छाला
प्यारा दिन थिए भनी विगतका सम्झी बसेकी म छु
आँखा छन् धमिला उमेर पनि ता ढल्की बसेकी म छु
दुख्छ्न् ढाड घुँडाहरु करकरी फुस्रो छ छाला पनि
आफैँ छु म अचम्ममा कसरी खै नौलो छ चाला पनि

यै बाटानिरको बूढो रुखसरि पर्खिरहेकी म छु
आँखाबाट बलेनीझैँ तपतपी बर्सिरहेकी म छु
आयौ कि पथमा तिमी भनी सधैँ हेरिरहेकी म छु
आफ्नो यै मनभित्रकै कलमले  केरिरहेकी म छु

तिम्रो भोक म बुझ्दथेँ नि तिमीले केही नबोले पनि
तिम्रो पीर म बुझ्दथेँ नि तिमीले मर्का नखोले पनि
ऐले लाटी भएँ भएँ बुढी भएँ निर्धी निमुखी भएँ

बाठो यो दुनियाँ भयो म सहसा झुम्री पुरानी भएँ।

आफुलाई मिटाई खाली ममता पोखिरहेकी थिएँ
माली झैँ दिनरात बीज बिरुवा रोपिरहेकी थिएँ
भोको  पेट भए पनि विरहले पोल्दैनथ्यो यो मन
खाली हात भए पनि सुखी थिएँ मान्थेँ तिमी नै धन 

देब्रे छाती चसक्क चस्कन पुगे तर्सन्छु केही नहोस्
मेरा सन्तति भैरहुन् सुखी सधैं भो दुख्ख मैलाई होस्
प्यारा केही नदेऊ भो  फगत ए आमा भनी बोलिद्यौ
सङ्लो ताल सदृश यो हृदयमा आत्मीयता घोलिद्यौ ।।

त्यसैगरी कवि जीवन युगीन त्यही मञ्चमा प्रस्तुत भए । कावासोतीबाट परिवारसहित आएका उनले `नकाव´ शीर्षकको कविता सुनाउँदा माहोल उत्साहित देखियो ।

प्रिय जेन-जी
मेरो प्रेम
भ्रमित-भष्मासुर जेन्जीप्रती होईन
बरू यो प्रेम
यो कविता,
जेन्जी अमरसिंह
जेन्जी बलभद्र
र सम्वोधी जेन्जीप्रति
ससम्मान
पोख्दैछु ।

तिमिले बिर्सिन पाउँदैनौ
कतिपय ईतिहास दमीत हुन्छ
कतिपय ईतिहास
चिहान खनेर पढ्नुपर्छ
प्रिय जेन्जी !
पढ्यौ त्यसरी कुनै दिन
आफ्नै इतिहास ?

एकादेशमा
एक रात !
युवराज दीपेन्द्र नकावले
स्व.युवराज दीपेन्द्रको हत्या गर्छ
आफ्नै हत्याको आरोप, आफैमाथि थोपर्छ
मृत जेन्जीले आफैँलाइ श्रीपेच ओढाउँछ
आफ्नै लाशलाई राजा घोषित गर्छ…
प्रिय जेन्जी !
युवराज त वास्तवमै मरिसके
तर त्यो मास्क ! त्यो नकाव ,
फेरि यतिवेला ब्युँझिएको छ
यतिबेला जागेको छ ।

जेन्जी मास्कले
तिमी र मबिचबाटै
निल्यो अवोध ,
हाम्रा आफ्नै छोराछोरी

निल्दैछ
दावानलझैं
उजाड बनाउँदैछ
तिमी र मभित्रको जीवनदायी
यो राष्ट्रलाई ।

मेरो प्रेम !
पालो कुरीरहेको
लम्पट/निम्छरो/पपेट
जेन्जीलाई होईन,
बरु यो प्रेम
यो कविता,
कुमाऊ गढवाल युद्धका जेन्जी
अमरसिंह
बलभद्र
र सम्वोधी प्राज्ञ जेन्जीप्रती
ससम्मान लेखिँदैछ ।

मैले बोलिरहेको कविता
श्वास फेरिरहेका
ज्युँदा,
शरीर, विचार र भावनाले
जागृत
नागरीक जेन्जीहरुका पक्षमा लेखिएको
घोषणापत्र हो
चेतावनी हो
कविता हो
आगो हो, अगुल्टो पनि हो
सावधान !
मास्क जेन्जी /छद्म जेन्जी/ नकाव जेन्जी
बोल्न सक्ने, चल्न सक्ने ज्युँदो जेन्जीमाथि
नृशंस कुदिरहेछ ।

आऊ ! एकफेर सँगै बसेर
गाढा चियाको चुस्की पिउँदै
पढौं सोमाली ईतिहास
र उतारौं नकाव ।।

त्यसैगरी उनले `वनमान्छे´ शीर्षकको कविता पनि सुनाए ।

भावना रहीत बिचारहरुको
जंगल
दिनदिनै भयावह बन्दैछ
झन झन अँध्यारो हुँदैछ ।

हरियो हराएको उजाड जंगल जस्तै,
हिउँ हराएर निर्लज्ज देखिएका हिमालझैं,
मेरो विश्व-ब्यवस्था
कतै मानवता बिरुद्ध नै जुधिरहेको त छैन ?
छोरीको प्रश्न छ
र त्यही प्रश्न मसंग पनि छ ।

छिमेकी आंगनबाट अपहरित काका
अपहरण मुक्त हुँदा
बनझाँक्री बनेको-
वनमान्छेको डरलाग्दो कथा !
सानै छँदा सुनेको थिएँ
आज साक्षी छु
जंगली साम्राज्यको ।

शरीर एक बिचार
सुख एक भावना ।

घर एक बिचार
परिवार सुन्दर भावना ।

देश एक विचार
राष्ट्र एक भावना

विश्व एक बिचार
ब्यवस्था ब्रह्म भावना

चेतना शून्य मान्छे मान्छे रहँदैन
जसरी लाशभित्र जीवन हुँदैन
बिचार र भावनाको सन्तुलनभित्र जागृत
मानव चेतना !
देब्रे बाट दाहिना कुदिरहेछ –
असन्तुलित ।
जसरी कुद्दैछन
पब्जीको वारुदी टंकारभित्र
रातभरी
हाम्रा छोराछोरीहरु ।

सत्तामाथी पुगेपछि
किन उछृंखल बन्छन् ?
किन वनमान्छे बन्ने होडमा छन ?
नायकहरु ?
ओ नायक !
सत्ताबाट उत्रीएपछी तिमिलाई
तिम्रा सन्ततिलाई चाहिँदैन
प्यारो सुन्दर धर्ती ?
किन भूल्दैछ तिमिभित्रको हृदयले
वशुधैव कुटुम्वकम ।

ओ अष्टचिरंजीवीहरु !
आकाशमा छौ या सुन्दर कुनै जंगलभित्र ?
जवाफ देऊ !
मेरो माथिंगल
मेरो शरीर
र देशमाथी
वनमान्छेको शासन कहिलेसम्म ?

जीवनले `टुंडिखेल जात्रा´ शीर्षकको कविता पनि सुनाए ।

टुंडिखेलको शैनिक परेड
पूर्वतिरबाट
सिंहदरवारको कंकालले हेरिरहेछ
उत्तरतिरबाट,
आत्मा विहिन राजदवारले ,
प्रीय सत्ता !
जेन्जी समयमाथिको ,
तिम्रो परेड
सुन्दर मानौं ?
कि,
अवोध वालक बनेर
ताली पिटुँ ?

लाउड स्पिकर´, पोष्टकार्ड´, `क्रमभंग´ शीर्षकका कविता पनि उनले सुनाए ।

कवि भूपिनले चितवन र नवलपरासीका तीनजना कविहरूका सुन्दर कविताहरू सुनेर शनिबार बिहान बिताउने सुअवसर मिलेको बताए । `कवितावाचनपछि कवि र श्रोताहरूबीच जुन सुमधुर सम्बन्ध स्थापित भयो, कविताका लागि आदर्श वातावरण यही हो भन्ने लागिरह्यो । कविताहरूले श्रोतासँग सार्थक संवाद गरेको महसूस गरेँ । कविताको शक्ति यही हो´, भूपिनले भने ।

चितवनको साहित्यिक इतिहासलाई उल्लेखनीय राख्नका लागि लेट्स टक समूहले १०० औँ शृङ्खलालाई उत्सवका रूपमा ल्याउने तयारी गरिरहेको संयोजक आकाश पौडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट