श्रमिकहरुको सुस्केराको कथा : उरमाल

कालो कफिको टर्‍रो चुस्कीसँग पढ्न शुरु गरेको `उरमाल´ मिल्क कफिको मीठो चुस्किका साथ भरखरै पढेर सिध्याएँ ।

श्रमिकहरुको सुस्केराको कथा हो उरमाल ।
जीवनको अन्तिम साससम्म बाँच्नकै लागि कमानेहरुले गरेको सङ्घर्षको कथा समेटिएको छ उरमालका पानाहरुमा । हजारौं सङ्घर्ष छन् तर चैन थोरै पनि छैन । दु:खको कथालाई छातीमा बोकेर हिँड्ने कमानेहरुको जीवनका पीडाहरुलाई उपन्यासमा मार्फत लेखकले देखाउने जमर्को गरेका छन् । चिया टिप्ने महिलाहरुको पीडालाई पाठकले उरमालमा गहिरो रुपमा महसुस गर्नेछन् ।

बाँचुञ्जेल मालिकको दास बनेर , बगानको माली जस्तै बनेर पनि व्यवस्थाले सबैभन्दा पछिल्तिर धकेलिदिएको कमानेहरुको जीवनको दु:खका किताबका पाना जति पल्टाए पनि कहिल्यै नसकिने दु:खको अग्लो पहाड तेर्सिएको छ । दु:ख पनि यति छ कि जोसँग स्वतन्त्रताको एकमुठी आकाश पनि आफ्नो छैन । अधिकारको नाउँमा आफू बसेको छाप्रो मुनीको जमिन पनि आफ्नो नाउँको छैन । न स्वतन्त्रताको आकाश छ, न अधिकार जमाउन मिल्ने धर्ती छ ।

परिवारको सुन्दर भविश्यका लागि बुधुवाले गरेको सङ्घर्षको कथा, बुधुवा र दलबहादुरको मित्रताले देखाउन खोजेको सम्बन्धको गहिरो चित्रण , सोमारीले छोरी नुरसाङलाई माध्यमिक पढाइ पढाउनको निम्ति देखेको सपना र त्यसपछाडि सोमारीले गरेको ठूलो संघर्षको कथा, बगान मालिकहरुले श्रमिकमाथि गर्ने गरेको अनेकौं शोषण र अन्याय अत्याचारको कथा, राजनीतिक उथलपुथल र त्यसले निम्त्याएको घटनाक्रम, थापा सरले कमानेहरुका बालबच्चाका लागि बालेको शिक्षाको दियोको कथा बिच उरमाल घुमेको छ ।

दु:ख र सङ्घर्षको कथा त संसारमा जहाँ पनि भेटिन्छ । सबैलाई आफ्नो दु:ख नै सबैभन्दा अग्लो पहाड जस्तै लाग्छ । यहाँ पनि कमानेका श्रमिकका कथा व्यथा संसारकै सबैभन्दा अग्लो पहाड बनेर उभिएको छ । त्यो अग्लो पहाडलाई हटाउनका निम्ति दलबहादुर जस्ता पात्रहरुले लडेको लडाइँले ठूलो अर्थ राखेको छ । जहाँ पनि मालिकहरु सधैं माथि अनि श्रमिकहरु सधैं तल पर्नु पर्ने सायद यो संसारको नियम नै होला !

कहिले फेरिन्छ श्रमिकको नियति ?
कहिले सम्म हुनुपर्ने श्रमिकले मालिकको दास ?
कसले फेरिदिन्छ श्रमिकको भाग्य ?
कसले फुकिदिन्छ श्रमिकको उन्मुक्ति र समृद्धिको निम्ति चर्को उद्घोष ?
कसले पुछिदिन्छ श्रमिकको आँखाको आँसु ?
कसले ल्याउँछ श्रमिकको ओठमा मिठो मुस्कान ?
व्यवस्था परिवर्तन नभएसम्म श्रमिकको अवस्था परिवर्तन असम्भव जस्तै छ । फेरि पनि व्यवस्था परिवर्तनका लागि संघर्ष र आन्दोलन त जरुरी नै छ । युगले अब एउटा यस्तो योद्धा जन्माउनु जरुरी छ , जसले हरेक कु- व्यवस्था परिवर्तन गरेर सबैको जीन्दगीमा उज्यालो बिहान ल्याउन सकोस् ।

प्रिय लेखक छुदेन काबिमोप्रति हार्दिक धन्यवाद ! जसले यति सुन्दर उपन्यास लेख्न सफल हुनु भो । म जस्ता पाठकले यति गजबको उपन्यास पढ्न पाउनु हाम्रा लागि सुखद रह्यो । आफ्नै दु:ख र सङ्घर्षले थिचिएको परिस्थिति मा अरुका दु:ख पीडाबारे कसलाई सम्झिने फुर्सद हुन्छ र ? लेखकले कमानेका दु:ख र पीडालाई उपन्यास मार्फत पाठकसम्म पुर्‍याउनु चानचुने कुरा होइन । यसका लागि ठूलै हृदय चाहिन्छ । यसअर्थमा पनि छुदेनजीभित्र विशाल मानव हृदय भएको प्रष्ट देखिन्छ । यस्तै हृदयले मात्रै पाठकको हृदय छुने उपन्यास लेखिन्छ ।

चरैवेति चरैवेति चरैवेति

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट