सामाजिक सञ्जालमा सधैं मुस्कानका तस्बिरहरू, प्रेरणादायी विचारहरू र जीवनप्रतिको उज्यालो दृष्टिकोण –
यिनै शब्द र मुस्कानले धेरैलाई हौसला दिन्छ ।
तर त्यो मुस्कानको पछाडि लुकेको कथा चाहिँ दुःख, सङ्घर्ष र साहसको गहिरो सागर हो ।
चन्द्रकला – एक आमाको नाम, एक कर्मनिष्ठ नारीको परिचय ।
काखमा सानो छोरा च्यापेर उनले जागिरे जीवनको सुरुवात गरिन् ।
कोचिङ वा तयारी कक्षा केही होइन – आफ्नै स्वअध्ययन र दृढ इच्छाशक्ति ।
लोकसेवा आयोगका पाँच ठाउँमा परीक्षा दिइन् । सबैमा पास, तर सधैं वैकल्पिकमा ।
तर उनले हार मानिनन् ।
नौ हजारभन्दा बढी प्रतिस्पर्धीबीच तेस्रो नम्बरमा खुला सूचिमा नाम निकालेर जागिरको यात्रा सुरु गरिन् ।
त्यो खुसीसँगै अर्को अवसर पनि आयो – निजामती सेवामा पनि नाम निस्कियो ।
तर उनले त्यो बाटो रोजिनन्, किनभने जिम्मेवारी र मातृत्वले उनलाई यतै रोकेको थियो ।
त्यसपछि पनि उनको यात्रा सजिलो भएन ।
फेरि परीक्षा दिइन्, फेरि वैकल्पिकमा परिन् ।
कम्प्युटरमा अङ्क मिलेन रे, यस्तो सुनेर तितो अनुभव जोडियो ।
त्यो बीचमा उनले दोस्रो छोरा जन्माइन् ।
सुत्केरी शरीरले अझै बल पाएको थिएन, तर जिम्मेवारी भने घटेको थिएन । फेरि वैकल्पिक बाट नाम निस्कियो, माथिल्लो तहमा र काखमा नवजात शिशु लिएर कार्यालय धानिन् ।
सहयोग गर्ने कोही छैन, परिवार र तहाँ का सहकर्मी बाहेक कसैले साथ दिएन ।
तर उनले काम रोकिन दिइनन् ।
अन्ततः सरुवा भयो – नयाँ कार्यालय, नयाँ ठाउँ, फेरि नयाँ सङ्घर्ष ।
सानो छोरा, घरको जिम्मेवारी र कामको दबाबबीच पनि उनले आफ्नो कर्तव्य पूरा गरिरहिन् ।
तर त्यो नारीको कर्म, त्याग र श्रमका लागि कहिल्यै जश, ताली वा प्रशंसा आएन । कसैले उनको बल देखेन, मुस्कानमात्र देखे ।
एक दिन, थकित मनले भन्यो –
“अब के बाँकी छ ? के यत्रो संघर्ष केवल अस्तित्वका लागि हो ?”
र उनले जागिरबाट केही समयका लागि पर्खिने निर्णय गरिन् ।
तर त्यो कुनै हार थिएन – त्यो आत्मसन्तुलनको खोज थियो ।
आज पनि उनी मुस्कानसहित लेख्छिन् :
“जीवनले जे दिए पनि, म हिम्मत हार्दिनँ ।”
किनकि उनी थिइन् मात्र कर्मचारी होइनन् : उनी एक आमा, एक नारी र प्रेरणाको मूर्ति हुन् । उनको कथा हजारौं चन्द्रकलाहरूको कथा हो – जो मुस्कानभित्र आँसु लुकाएर पनि संसारलाई उज्यालो दिन्छन् ।
सन्देश :
साँचो शक्ति त्यो हो, जो आँसु पिएर पनि मुस्कान बाँड्न सक्छ । चन्द्रकला त्यही शक्ति हुन् – जसले देखाउँछिन्, नारी कमजोर होइन, ऊ नै जीवनको आधार हो ।




