भरतपुर, २३ कात्तिक ।
विद्यार्थीका अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को बाह्रौँ शृङ्खला होली भिजन पब्लिक स्कुल भरतपुर – ४ यज्ञपुरी, चितवनमा गरिएको छ ।
कार्यक्रममा १७ जना विद्यार्थीले पठन अनुभव राखे । कार्यक्रमलाई विद्यार्थीहरू एञ्जिला घिमिरे र कविता पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । कार्यक्रमको शुरुआतमा कक्षा ६ का रेहान्स बस्ताकोटीले सरला जोशीको `सपनाको देश´ किताबको समीक्षात्मक टिप्पणी राखे । त्यसैगरी सङ्गम दङ्गुराले `नपुरिएका घाउहरू´ कवितासङ्ग्रह, अस्मिज दवाडीले हीरा लामाको `दलदल´ उपन्यास, स्वप्निल गौतमले `नेपालको इतिहास´, प्रत्यूष खरेलले केशवप्रसाद कँडेलको `जीवनयात्रा´ आत्मकथा, शिशिर थापाले `मायाको आयतन´, स्वीकृति भट्टराईले `राक्षससँगको लडाइँ´ कथासङ्ग्रह, आरुषी कार्कीले रामलाल जोशीको `बाआमा´ कथासङ्ग्रह, आष्मा सापकोटाले अङ्ग्रेजी किताब `द पावर´, सेञ्जल घिमिरे र गुराँस थापाले लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य `मुनामदन´ को समीक्षात्मक टिप्पणी प्रस्तुत गरे ।

त्यस्तै प्राश्ना सुवेदीले मलाला युसुफजाइको जीवनी, विवेश भण्डारीले अल्बर्ट आइन्सटाइनको जीवनी, समीक्षा लामिछानेले `डिस्कभरिङ अफ कमिसन´, रेशाका रानाले नीलम कार्की निहारिकाको `योगमाया´ उपन्यास, समीप न्युरेले `बाल रामायण´ र प्रश्न न्यौपानेले `डार्क साइकोलोजी´ किताबको टिप्पणी राखेका थिए ।

विद्यार्थीले गत भदौमा सम्पूर्ण किताबमा आएर पुस्तक सङ्कलन गरेका थिए । फुर्सदमा घरमै अध्ययन गरेका विद्यार्थीले आइतबार विद्यालयमा आयोजित कार्यक्रममा अध्ययनपछिको अनुभव सुनाएका थिए । सहभागी विद्यार्थीले किताबले दिएको सन्देश र किताब पढ्दा हुने फाइदाका बारेमा चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्रीले सबै विद्यार्थीको प्रस्तुति राम्रो भएको भन्दै उत्कृष्ट प्रस्तुति दिएकी आरुषी कार्कीलाई ५०० रुपैयाँ नगदले पुरस्कृत गरेका थिए । उत्कृष्ट प्रस्तुति दिएकी आरुषी कार्की, आस्मा सापकोटा र रेशाका रानासहित सहभागी सबैलाई विद्यालयका प्रधानाध्यापक मीनराज बस्ताकोटीले पुस्तक दिएर हौसला प्रदान गरेका थिए । विद्यालयका शिक्षक सिके बस्ताकोटीले कार्यक्रमको संयोजन गरेका थिए ।

एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज र अङ्कुरम् एकेडेमीको सहयोगमा सम्पूर्ण किताब नारायणगढले चितवन र नवलपरासीका विद्यालयमा `म पनि पढ्छु´ कार्यक्रम गरिरहेको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एक्सपर्ट एजुकेसन चितवनका विजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई पढ्ने बनाउने, बुझ्ने बनाउने र आत्मविश्वासी बनाउने रहेको बताए ।

यो कार्यक्रमको तेह्रौँ शृङ्खला आगामी बिहीबार बालकुमारी माध्यमिक विद्यालय नारायणगढमा गरिने सम्पूर्ण किताबका लेखराम सापकोटाले जानकारी दिए ।





