चितवन, २३ कात्तिक ।
चितवनको इतिहास समेटिएको पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ माथि विमर्श कार्यक्रम गरिएको छ । चित्तौन कचहरी र डबली बुक क्याफेको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमका वक्ताहरूले उपन्यासले चितवनको इतिहास उधिन्न सफल भएको धारणा राखेका छन् ।
इतिहासविद् प्रा. डा. ईश्वरीराज लौडारीले प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक पाटोलाई उपन्यासमा सशक्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
“बखानभित्र धेरै कुरा छन् । चितवनको बस्ती विकासदेखि सामाजिक अवस्थाको चित्रण गरिएको यो कृति युगयुगसम्म जीवन्त रहनेछ,” उहाँले भन्नुभयो ।
२०४६ सालअघिसम्म जनताको इतिहास लेख्ने चलन नहुँदा ऐतिहासिक पात्रहरूको पनि इतिहास बन्न नसकेको समयमा ‘बखान’ उपन्यासले लुकेर बसेका बखानसिंह गुरुङको जीवनीलाई उजागर गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै बखानसिंह गुरुङका नाति तथा सहिद लालध्वज गुरुङका छोरा चन्द्रध्वज गुरुङले ‘बखान’ उपन्यास भएकाले आत्मकथाजस्तो ढंगले चित्रण गर्न नहुने तर्क गर्नुभयो ।
“‘बखान उपन्यासले मेरा हजुरबा (बखानसिंह) र मेरा परिवारका कथालाई नजिकबाट छोएको छ । आत्मकथामा जस्तै सबै विवरण उपन्यासमा आउनुपर्ने अपेक्षा गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “उपन्यास सार्वजनिक भएसँगै बखानसिंह गुरुङबारे राष्ट्रिय रूपमा बहस हुनु यस कृतिको बलियो पक्ष हो ।” देश र जनताका लागि आफ्ना अग्रजहरूले बलिदान दिए पनि आफूहरू अझै अन्यायमा परेको उहाँको गुनासो थियो ।
“मेरा बा (लालध्वज) २०१८ सालको आन्दोलनमा र काका (धर्मध्वज)ले २००७ सालको क्रान्तिमा शहादत प्राप्त गर्नुभयो । हजुरबाले जीवनभर निर्वासन, घर आगजनी र सर्वस्व हरण सहनु पर्यो । हाम्रो परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन,” उहाँले बताउनुभयो ।
कार्यक्रममा थारु महिला सभा चितवनकी पूर्व अध्यक्ष धन्जु महतोले चितवनको बस्ती विकासका क्रममा आदिवासी थारुहरूले पहाडबाट बसाइँ सरेर आएका अन्य जातिहरूलाई सहृदय रूपमा स्वीकार गरेर सहयोग गरेको बताउनुभयो ।
“नयाँ बस्ती विकासको चरणमा यहाँ थारुहरू मात्रै थिए । सरेर आएका नयाँ बसोबासीलाई त्यतिबेला सँगै राखी अन्नको समेत व्यवस्था मिलाइदिएको प्रसङ्ग उपन्यासमा उल्लेख छ, जुन हाम्रा बा–बाजेहरूले गरेका कथा आज पनि समाजमा सुनिन्छ,” उहाँले बताउनुभयो ।
लेखक जीवन क्षेत्रीले २०१८ सालको आन्दोलनमा चितवनमा शहादत प्राप्त गरेका सहिदहरूको खोजी र थप अनुसन्धान आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रमको सहजकर्ता पत्रकार सरिता पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै लेखक वसन्त पराजुलीले अनुसन्धानमूलक उपन्यास लेखनका सीमाहरू हुने भएकाले कतिपय पाठकले अपेक्षा गरेजस्तै सबै विषयवस्तु समेट्न नसकिने स्वीकार गर्नुभयो ।




