कवि हमालको कवितासङ्ग्रह ‘स्मृतिका छालहरू’ लोकार्पण

भरतपुर, २० कात्तिक ।
कवि सूर्यवदना हमाल ‘कुसुम’को कवितासङ्ग्रह ‘स्मृतिका छालहरू’ लोकार्पण गरिएको छ । अभिव्यञ्जना साहित्य प्रतिष्ठानले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, कवि मेनका चापागाईं र अभिव्यञ्जना साहित्य प्रतिष्ठानका अध्यक्ष विद्या भण्डारी चिरागले कृति लोकार्पण गरेका हुन् ।

लोकार्पण गरिएको कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै मेनका चापागाईंले सङ्ग्रहका समग्र कविताहरूमा परिवारप्रतिको अगाध प्रेम, राष्ट्रियता, देशभक्ति, नारीवादी क्रान्तिका कुराहरू समेटिएको बताइन् । चापागाईंले अगाडि भनिन् – `उहाँका कवितामा संकटका विभिन्न चरणहरू कोभिड, प्राकृतिक प्रकोप, विमान दुर्घटनालगायतका प्रसङ्ग पनि समेटिएका छन् ।´

त्यसैगरी अर्का टिप्पणीकार प्रकाश चापागाईंले यस सङ्ग्रहमा आग्रह र पूर्वाग्रहका कविताहरू नभएको बताए । `उहाँका कवितामा राजनीतिक चेत छ, आफूले आस्था राखेको पार्टीका नेतालाई खबरदारी गर्नुभएको छ´, चापागाईंले भने । कविताहरू प्रकृतिवादी, सामाजिक र पारिवारिक विषयका पनि भएको चापागाईंले बताए ।

कार्यक्रममा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, भरतपुर -१० का वडाध्यक्ष परमेश्वर खनाल र एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनका म्यानेजर किरण पौडेल नरहरिले शुभकामना मन्तव्य राख्दै कवि हमाललाई साहित्यिक यात्रामा निरन्तर लागिरहन आग्रह गरेका थिए ।

यो सङ्ग्रहमा हमालले लेखेका ४९ कविताहरू छन् । वि.सं. २०१२ चैत्रमा लमजुङमा जन्मिएकी हमालको यो दोस्रो कवितासङ्ग्रह हो । यसअघि हमालको ‘अनुभूतिका पाइलाहरू’ कवितासङ्ग्रह प्रकाशित भएको थियो । भरतपुर महानगर- १० निवासी हमाल जनप्रतिनिधि हुन् । हमालले २०४० सालदेखि नै कविता लेख्दै आएकी छन् । खास गरेर छन्दमा कविता लेख्ने हमाल राजनीति र सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

कार्यक्रममा कवि हमालका ज्येष्ठ सुपुत्र प्रचण्ड हमालले स्वागत मन्तव्य राखेका थिए भने विनोदबाबु रिजालले कार्यक्रम सञ्चालन गरेका थिए । अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनकी अध्यक्ष विद्या भण्डारी चिरागले कवि हमालको साहित्यिक योगदानको चर्चा गर्दै धन्यवाद मन्तव्य राखेकी थिइन् । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ चितवनकी अध्यक्ष विष्णु तिवारी उषाले कवि हमालको कवितासङ्ग्रहबाट एउटा कविता सुनाएकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट