भरतपुर, १८ कात्तिक ।
नारायणगढस्थित नारायणी नदी किनारमा मंगलबारदेखि सुरु भएको खेलकुद तथा व्यापार महोत्सवको मुख्य आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ निर्माण कार्य सुरु गरिएको छ ।
महोत्सवको मुख्य प्रवेशद्वारमै निर्माण भइरहेको उक्त लन्डन ब्रिजको प्रतिकृति हेर्न अहिले नै सर्वसाधारणमा उत्सुकता देखिएको छ । आयोजकका अनुसार दर्शकहरूले मुख्य गेटमा टिकट खरिद गरेपछि यही लन्डन ब्रिजमार्ग भएर भित्र प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
ब्रिटेनको प्रसिद्ध लन्डन ब्रिजको नमुना झल्काउने गरी तयार पारिँदै गरेको यो संरचना सजावट, प्रकाश र डिजाइनका हिसाबले विशेष आकर्षक बनाईएको छ । यसले महोत्सवमा आउने आगन्तुकहरूलाई नयाँ अनुभूति दिने आयोजकहरूको विश्वास छ ।
महोत्सवमा खेलकुद, व्यापार, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादन प्रदर्शनका विविध स्टलहरू पनि रहनेछन् । आयोजनाका अनुसार महोत्सव आर्थिक, सामाजिक र पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देश्यले आयोजना गरिएको हो ।





