हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग हुने

मकवानपुर, १७ कात्तिक ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग हुने भएको छ । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा कात्तिक १९ गतेबाट मङ्सिर २ गतेसम्म प्रतियोगिता हुने एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा प्रदेशका १० टोलीले सहभागी हुनेछ । प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन हुने उनले जानकारी दिए । प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली यूथ क्लब (धनकुटा), काँक्रेविहार यूथ क्लब (सुर्खेत), नव जनजागृति (बारा), विजय स्पोर्टस क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौँ), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम तिखातल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब सहभागी हुने उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने विधागततर्फ फेर प्ले टिम र मोस्ट भ्यालुएवल टिमलाई ५० हजार रुपैयाँसहित ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपरलाई पच्चिस हजार रुपैयाँ, हरेक खेलका प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । एन्फाले प्रतियोगितामा सहभागी क्लबहरूलाई ७ लाख रुपैयाँका दरले तयारी खर्च समेत उपलब्ध गराएको जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । प्रतियोगिता सञ्चालनका लागि स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घ रहेको छ ।

एन्फामा आबद्ध भई जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगमा छनोट भएका क्लबहरू प्रतियोगितामा सहभागी भएकाे बताइएकाे छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ टोलीले राष्ट्रिय लिगकाे लागि छनोट हुने छन् । प्रतियोगितामा प्रत्येक टिमले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ गरी ५ जना खेलाडी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए । प्रतियोगिताले स्थानीय स्तरको प्रतिभालाई मेन स्टिममा पुर्याउन सहयोग पुग्ने विश्वास लिएको र कुनै पनि टिमले विदेशी खेलाडीलाई टिममा दर्ता गर्न नपाउने प्रावधान रहेको उनले बताए ।

प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागि हेटौंडा उपमहानगरपालिका भित्रको २ वटा खेल मैदानको व्यवस्था गरिएको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएकाे छ । प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । प्रतियोगिताको लागि १ करोड ५४ लाख ५४ हजार ४ सय २५ रुपैयाँ लाग्ने आयोजकले जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट