कवि भजुमनराम महतोको `कविता माला दिउवा´ लोकार्पण

चितवन, ११ कात्तिक ।
थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतोको थारू भाषाको कवितासङ्ग्रह `कविता माला दिउवा´ सोमबार एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।

कार्यक्रम नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरको सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा थारू लेखक संघका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ थारू साहित्यकार कृष्णराज सर्वहारी उपस्थित हुनुहुन्थ्यो ।
उहाँले ‘कविता माला दिउवा’लाई थारू भाषाको काव्य यात्रामा एक महत्वपूर्ण रचनात्मक जोडका रूपमा व्याख्या गर्दै भन्नुभयो – `थारू साहित्य अहिले निरन्तर विकासको बाटोमा छ । भजुमनराम महतोजस्ता स्रष्टाहरूको सिर्जनाले हाम्रो भाषा, संस्कृति र पहिचानलाई बलियो बनाउने काम गरेको छ ।”

कार्यक्रमको अध्यक्षता थारू लेखक संघ, चितवनका अध्यक्ष चन्द्रमणी महतोले गर्नुभएको थियो ।

उहाँले कविको समर्पण र साहित्यिक योगदानको प्रशंसा गर्दै भन्नुभयो — “भजुमनराम महतो, थारू भाषाका अभियन्ता मात्र होइनन्, भावनाका कवि पनि हुन् । उनका कवितामा दुःख, माया, संघर्ष र जीवनको गहिरो यथार्थ गुँथिएको छ ।”

समर्पण र भावनाको प्रतीक ‘दिउवा’

कवितासङ्ग्रह ‘कविता माला दिउवा’ कवि महतोले आफ्नी स्वर्गीय पत्नी लछुमिनिया महतोको पाँचौँ पुण्य तिथिको स्मृतिमा लोकार्पण गर्नुभएको हो ।
कविले पुस्तकमार्फत आफ्नी जीवनसंगीनीको सम्झनालाई सिर्जनाको उज्यालो दिउवा (दीयो) मा रूपान्तरण गर्नुभएको छ ।

कवितासङ्ग्रहमा विशेषगरी थारू समाजका चेलीहरूको पीडा, वेदना, आत्मबल र असमानता विरुद्धको मौन प्रतिवाद अभिव्यक्त गरिएको छ ।
पुस्तकका कविताहरूले थारू समाजका गहिरा भावनात्मक तहमा पुगेर नारी संवेदना, सामाजिक संरचना र अस्तित्वको प्रश्न उठाएका छन् ।

समीक्षा र परिचर्चा

कार्यक्रममा पुस्तक समीक्षा तथा परिचर्चाका लागि सामजविद् एवम् समालोचक डाक्टर सञ्जय महतो र थारू भाषा साहित्यका ज्ञाता बाबुराम पाण्डे उपस्थित थिए ।
डाक्टर सञ्जय महतोले ‘दिउवा कविता माला’ लाई थारू भाषाको आधुनिक कवितामा एउटा साहित्यिक मोडको रूपमा व्याख्या गर्दै भने — “भजुमनराम महतोका कवितामा आत्मस्वर, समाजस्वर र समयस्वर मिसिएका छन् । यो केवल कवितासङ्ग्रह होइन, थारू समाजको अन्तरआवाज हो ।”
समीक्षक बाबुराम पाण्डेले भन्नुभयो — `कविताको भाषिक बनावट सरल भए पनि यसको भावनात्मक गहिराई अत्यन्त सबल छ । यो पुस्तकले नयाँ पुस्ताका स्रष्टालाई प्रेरणा दिनेछ ।´

कार्यक्रममा विभिन्न साहित्यकार, बौद्धिक तथा सामाजिक व्यक्तित्वहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
इन्द्रप्रसाद रेग्मी (उपकुलपति, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान)ले थारू भाषाको संरक्षण र साहित्यिक विकासमा थारू लेखक संघको अग्रणी भूमिकाको प्रशंसा गर्दै भन्नुभयो – `स्थानीय भाषाको साहित्य विकासले राष्ट्रिय साहित्यको सौन्दर्य बढाउँछ । ‘कविता माला दिउवा’ जस्ता कृतिहरूले देशको भाषिक विविधतालाई उजागर गर्छन् ।´

कवि एवम् साहित्यकार रवि किरण निर्जीव, वरिष्ठ साहित्यकार एवम् समालोचक डिआर पोखरेल, अग्रज थारू लेखक लक्ष्मणप्रसाद चौधरी, भरतपुर-२२ वडा प्रमुख विष्णुराज महतो, गजलकार धनराज गिरी र थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, थारू कल्याणकारिणी सभा चितवनका कोषाध्यक्ष सविता चौधरीलगायतका वक्ताहरूले पनि ‘कविता माला दिउवा’ लाई थारू समाजको आत्मपहिचानसँग जोडिएको ऐतिहासिक दस्तावेजका रूपमा वर्णन गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य थारू लेखक संघ, चितवनका उपाध्यक्ष डाक्टर राउतले प्रस्तुत गर्नुभएको थियो ।
उहाँले संघको तर्फबाट स्रष्टा भजुमनराम महतोप्रति आभार व्यक्त गर्दै थारू भाषाको साहित्यिक अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम मनोज चौधरीद्वारा कुशलतापूर्वक सञ्चालन भएको थियो । कार्यक्रम उद्घोषक थारू पत्रकार संघ नेपाल, चितवनका अध्यक्ष साथै थारू लेखक संघ चितवनका कार्यसमिति सदस्य पनि हुनुहुन्छ ।

उहाँको प्रभावशाली सञ्चालनले कार्यक्रमलाई साहित्यिक र भावनात्मक दुबै दृष्टिले आकर्षक बनाएको सहभागीहरूले बताएका छन् ।

समारोहको अन्त्यमा सहभागीहरूले कवि भजुमनराम महतोको समर्पण, थारू भाषाप्रतिको प्रेम र साहित्यिक योगदानप्रति गहिरो सम्मान व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमले थारू भाषाको साहित्यिक धारा मात्र होइन, थारू समुदायको सांस्कृतिक पहिचानलाई पनि बलियो बनाउने मार्ग प्रशस्त गरेको वक्ताहरूको निष्कर्ष थियो ।

कार्यक्रमले उपस्थित साहित्यकार, पत्रकार, शिक्षाविद् र संस्कृतिप्रेमीहरूलाई एकै मञ्चमा ल्याउँदै थारू भाषाको गौरव र सम्भावनाको उज्यालो “दिउवा” बालेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट