तराई–मधेशमा छठ पर्वको रौनक : नारायणी नदी किनारमा छठ घाट निर्माण गरिँदै

भरतपुर, ९ कात्तिक ।
यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ उत्सवमय बनेको छ । सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ । चितवनमा तराई समुदायको बसोबास बढ्दै गएपछि पछिल्ला वर्षमा नारायणी नदी किनारमा छठ पर्व मनाउन थालिएको छ । नारायणी नदी किनारलाई आकर्षक ढङ्गले सिँगारेर यहाँ छठ पर्व मनाइने गरिन्छ । तराई सामुदायिक सेवा समिति चितवनले छठको तयारी गरिरहेको छ ।

तयारीको चटारो र बजारमा चहलपहल

कात्तिक शुक्ल चतुर्थी (नहाय–खाय) बाट विधिवत् रूपमा सुरु चार दिने यस पर्वका लागि तराई–मधेशका नदी, पोखरी र जलाशयहरूलाई नवदुलहीझैँ सिँगार्ने कार्य जारी छ । स्थानीय नदी, तलाउ, खोलालगायतका प्रमुख छठ स्थलहरूमा भव्य सजावट भइरहेको छ । स्थानीय युवा क्लब तथा समुदायहरू सरसफाइ, घाट निर्माण र रंगीन बत्ती तथा ध्वजापताकाले छठ घाटहरू सजाउन व्यस्त छन् ।

बजारमा पनि छठ पर्वको आवश्यक सामग्री, जस्तै बाँसका डाला, नाङ्लो, माटोका भाँडाकुँडा, उखु, नरिवल, ठेकुवा र भुसुवा (कसार) बनाउन प्रयोग हुने शुद्ध अन्नको किनमेल गर्नेहरूको घुइँचो लागेको छ ।

आस्था र निष्ठाको पर्व
छठ पर्वलाई पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्नका लागि सूर्यको उपासना गरिने पर्वका रूपमा लिइन्छ । पहिलो दिन व्रतालुहरू (मुख्यतः महिलाहरू) ले कठिन निर्जल व्रतको सङ्कल्प गर्छन्, जसलाई “नहाय–खाय“ भनिन्छ । दोस्रो दिन “खरना’’ मा दिनभर उपवास बसी राति खीर, पुरीलगायतका चोखो परिकार ग्रहण गरेपछि ३६ घण्टाको कठोर निर्जल व्रत सुरु हुन्छ ।

पर्वको मुख्य दिन दिन व्रतालुहरूले ठकुवा, भुसुवा, फलफूल र अन्य मिष्ठान्नले भरिएका ‘कोशी’ (पूजा सामग्रीको डालो) लिएर जलाशय किनारमा पुग्छन् र अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । रातभर घाटमै जाग्राम बसेर छठी माताको आराधना गरिन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।

सामाजिक सद्भावको प्रतीक
छठ पर्वलाई धार्मिक सद्भाव र सामूहिक भावनाको प्रतीक पनि मानिन्छ । यो पर्वमा जात, धर्म र क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भई सूर्यदेवको उपासना गर्छन् । स्थानीय प्रशासनले छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन छठ घाटहरूमा सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । तराई–मधेशको यो महापर्वले अहिले सम्पूर्ण देशलाई एक किसिमको पवित्रता, उत्साह र सामाजिक सद्भावको सन्देश दिइरहेको छ । तराई सामुदायिक सेवा समिति चितवनले छठ अवधिभर छठ घाट वरिपरि मदिरा बिक्रीवितरण र सेवन नगर्न आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट