धनगढी, ८ कात्तिक ।
गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास आफ्नो नवीनतम् गहलसङ्ग्रह `अनायास´ लिएर पश्चिम नेपालको यात्रामा निस्कनु भएको छ ।

कात्तिकको ६ गते भाइटीकाको दिन यात्रामा निस्कनु भएका अनायास बुटवल, लुम्बिनी, दाङ, कोहलपुर, महेन्द्रनगर हुँदै महाकाली पारि चाँदनी दोधारा पुगेर शनिबार धनगढी पुग्नुभएको छ । गजल मञ्च चितवनका सदस्य सुमन घिमिरेसहित शनिबार साँझ धनगढी पुग्नुभएका उहाँलाई धनगढीका युवा गजलकार एवम् व्यवसायी डिल्लीराज ओझाले स्वागत गर्नुभएको हो । आइतबार बिहान पनि धनगढीमा स्रस्टा भेटघाट र छलफल गरिने अनायासले बताउनु भयो । यात्राका क्रममा स्थानीय स्रस्टाहरूसँग भेटघाट र छलफल गर्दै नेपाली गजलको प्रबर्द्धन गर्नु नै आफ्नो उद्देश्य रहेको गजलकार अनायासले बताउनु भयो ।
सङ्ग्रह प्रकाशन भएपछि पहिलो यात्रा स्वरुप कालीगण्डकी कोरिडोर भएर नवलपरासी, तनहुँ, पाल्पा, स्याङ्जा हुँदै पोखरा पुग्नुभएको थियो । बाटोमा स्थानीय स्रस्टासँग छलफल गर्दै कृतिको परिचर्चा र प्रबर्द्धन गरिएको थियो ।
त्यसैगरी दोस्रो चरणको यात्रामा उहाँहरु हेटौंडा, चन्द्रनिगाहपुर, उदयपुर, सिन्धुली, जनकपुर, सुनसरी, मोरङ र झापा पुगेर कृतिको प्रबर्द्धन गर्नुभएको थियो ।
गजलकार अनायास विगत दुई दशकदेखि नेपाली गजल विधामा क्रियाशील हुनुहुन्छ । ‘अनायास’ उहाँको तेस्रो गजलसङ्ग्रह हो । यो सङ्ग्रहमा प्रेम, वियोग, समसामयिक चेतना र समाजको विविध आयामलाई समेटिएका ७० वटा गजलहरू समावेश छन् । सङ्ग्रहलाई गजल मञ्च चितवनले प्रकाशन गरेको हो । सङ्ग्रहको मूल्य २५१/- छ । यो सङ्ग्रहको वितरण सम्पूर्ण किताब नारायणगढले गरेको छ ।




