चितवन, ७ कात्तिक ।
नारायणी नदी किनारमा मोटरबोट चढेर रमाइलो गर्ने आन्तरिक पर्यटकको चहलपहल तीव्र रूपमा बढ्न थालेको छ । विशेष गरी दसैं, तिहार र छठजस्ता चाडपर्वका समयमा नदी किनारमा दैनिक हजारौं पर्यटकको भीड देखिएको छ ।
भरतपुर–१ का वडा सदस्य मनोज घिमिरेका अनुसार हाल नदी किनारमा निर्माण गरिएको ‘रिभर बीच मोडल’ संरचनाले यहाँको पर्यटन आकर्षण थप बढाएको छ । `महानगरपालिकाले नदी किनार क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउँदै लैजाने तयारी गरेको छ,´ उहाँले बताउनुभयो ।
सन् २०१९ (वि.सं. २०७६) मा एउटा मात्र मोटरबोटबाट सुरु भएको यो सेवा अहिले ३२ वटा मोटरबोटमा विस्तार भइसकेको छ । तीमध्ये धेरैजसो निजी कम्पनीहरूले विभिन्न दूरीका ‘प्याकेज सेवा’ सञ्चालन गर्दै आएका छन् ।
हाल नारायणी पुलदेखि मजुवा टापु, पोखरा बसपार्क, गैँडाकोटको राधाकृष्ण मन्दिर र देवघाटसम्मका मार्गमा मोटरबोट सञ्चालन भइरहेका छन् । यसले भरतपुर र आसपासका क्षेत्रका होटल, क्याफे र स्थानीय व्यवसायमा पनि आर्थिक गतिशीलता ल्याएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
पर्यटकहरूका अनुसार सूर्यास्तको दृश्यसँगै नारायणी नदीमा बोटिङ गर्ने अनुभव निकै रोमाञ्चक हुने गरेको छ । स्थानीय निकायले निकट भविष्यमै यस क्षेत्रलाई रिभर टुरिज्म जोनका रूपमा विकास गर्ने तयारी गरिरहेको जनाएको छ ।




