चितवनका तमू विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

भरतपुर, २८ असोज ।
चितवन घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका रोशन घलेले जिल्लाका तमू (गुरुङ) समुदायका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरेका छन् । एसटी मार्टिन कलेज सिड्नीका सिइओसमेत रहेका घलेले भरतपुरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा छात्रवृत्तिको जानकारी गराउँदै, प्रत्येक विद्यार्थीलाई रु १ लाखका दरले छात्रवृत्ति दिइने घोषणा गरेका हुन् ।

तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनमार्फत प्रदान गरिने यो छात्रवृत्ति उच्च शिक्षा हासिल गर्न चाहने दुई जना (एक छात्रा र एक छात्र) उत्कृष्ट विद्यार्थीलाई दिइने छ । भरतपुर–१० मा जन्मिएका घले अध्ययनको सिलसिलामा ३० वर्षअघि अष्ट्रेलिया पुगेका थिए । अध्ययनपछि व्यवसायमा सफलता हासिल गरेका उनले जन्मथलोमा शैक्षिक योगदान दिने उद्देश्यले यो कार्यक्रम अघि सारेका हुन् ।

उनका अनुसार, प्लस टु (कक्षा १२) उत्तीर्ण गर्ने गुरुङ समुदायका विद्यार्थीमध्ये जिल्लास्तरमा सबैभन्दा उत्कृष्ट अंक ल्याउने छात्रा र छात्रले यो छात्रवृत्ति प्राप्त गर्नेछन् ।

पाँचवर्षे योजनासहित छात्रवृत्तिको थालनी
सामाजिक सेवा क्षेत्रमा पनि क्रियाशील रहँदै आएका घलेले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेबाट प्रेरणा लिएको बताए । सुरुमा पाँच वर्षे योजनाका रूपमा छात्रवृत्ति कार्यक्रम अघि बढाइने र आवश्यक सुझाव, प्रतिक्रिया र मूल्यांकनका आधारमा त्यसलाई निरन्तरता दिने योजना रहेको उनले स्पष्ट पारे ।

तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरुङका अनुसार यो छात्रवृत्ति कार्यक्रम आगामी तमू ल्होसार पर्वदेखि औपचारिक रूपमा सुरु गरिनेछ । उनले यस योजनाले विद्यार्थी मात्र होइन, अभिभावकहरूलाई समेत शिक्षा प्रति उत्साहित गर्ने विश्वास व्यक्त गरिन् ।

समुदायबाट प्रशंसा र समर्थन

तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष तथा अग्रज बुद्धिजीवी पदमबहादुर गुरुङले यो पहलले गुरुङ समुदायलाई शैक्षिक उन्नतिको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे । उनले भने, ‘आजको प्रविधिमैत्री युगमा शिक्षाबिना सफलता सम्भव छैन । यस्ता प्रयासले हाम्रा बालबच्चाको भविष्य उज्यालो बनाउन मद्दत पुर्‍याउँछ ।’

निवर्तमान अध्यक्ष गणेशबहादुर गुरुङले पनि रोशन घलेको सोच अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै, ‘समाजको सबै तहका मानिसलाई आफूजस्तै सक्षम बनाउन चाहने सोच आफैँमा प्रेरणादायी छ,’ भने ।

छात्रवृत्ति घोषणा कार्यक्रममा संघीय प्रतिनिधि तुलाराम गुरुङ, नारायणसिंह गुरुङ, बौद्ध धर्म सेवा समिति नेपाल चितवनका अध्यक्ष दलबहादुर गुरुङ, तमू सञ्चारकर्मी संघ नेपालका संघीय महासचिव चित्र ‘सोल्टी’ गुरुङ, साथै दाता रोशन घलेका बुबा रामप्रसाद घले र आमा तारादेवी घले समेतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट