हामी जीतको भ्रमभित्र छौँ
त्यो फूटबल जस्तो
डल्लो
फूटबल थिएन
महोदय ।
सर्वोच्च अदालतभित्र
फूटबल कहाँ खेलिन्थ्यो र !
बम थियो ।
यी नायक जस्ता पात्र
नायक होईनन्
महोदय ।
त्यो प्रदर्शन
प्रदर्शन मात्र थिएन
महोदय ।
ती स्कुले ड्रेसमा
सडकमा निस्किएका शुलभ भावनाहरु
राष्ट्रद्रोही थिएनन् ,
बरू,
नेतृत्वविहिन आन्दोलनको आवाज उठाउनेहरु
(जो नेपथ्यमा थिए)
र स्कुल आएका बालबालिकालाई
सडकमा पठाउने/ल्याउने
छद्म
नायकरु
राष्ट्रद्रोही हुनसक्छन्
प्रश्न त्यहाँ पनि गरौँ
र प्रश्न आफैँमाथि पनि गरौँ ।
जो कृपापात्र भएर पर्दामा आउँछ
र नायकको अभिनय गर्छ
त्यो
कुनै दिन
कुनै समय
मर्दैन
मारिन्छ ।
जसरी गणतन्त्र आएपछि
अमर लामा मारियो ।
वंशनाशको बितण्डापछि
राजदरवार रित्तियो ।
बरू
कठपुतलीको आयु
र अस्तित्व
लामो होला,
नागरिकको आवरणमा लुकेका
गैह्र नागरिकहरु
पपेट भन्दा छिटो सकिन्छन्
त्यही चित्रहरु
तिनै रूप-सार र राष्ट्र पीडा
देखिँदैछन्
अझै लस्करै देखिनेछन् ।
नयाँ पपेटले
पुरानो पपेटलाई
जिस्क्याईरहेको
दृष्य बनिरहेको
देख्न सक्छौ ?
तिम्रो र मेरो शरीर
र यो राष्ट्र
वीरताको नासो हो ।
अब रोकिने कि ?
झोला, पार्टी, पैसा र इज्जत ?
केही स्थाई हुँदैन,
यो देश
पूरै बेईज्जत भएका ,
आधा इज्जत गएका,
र अलिकती बाँकी भएका,
बेईज्जतिहरुले नै जोगाउने हो
किनकी,
ईज्जतको ताला चाबी
पराईको हातमा थियो ।
अझै पराईकै हातमा छ ।।
सबैले सबैलाई जिस्क्याउने आन्दोलन
बिसाउँ ।
चुपचाप
एक बनौं
हामीलाई
प्रजातन्त्र होईन
प्रजातन्त्र अट्ने देश चाहिएको छ
तर….!





