मकवानपुर, ११ असोज ।
बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई ८५ वटा दुईपाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङले प्रदेशका इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ती सवारीसाधन उपलब्ध गराइने बताए ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमा क्षति भएको थियो । सवारी अभावमा सुरक्षामा चुनौती सिर्जना भएको सन्दर्भमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर सवारी साधन दिन लागिएकाे उनले बताए ।
निर्णयअनुसार इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा दुई पाङ्ग्रे सवारीसाधन उपलब्ध गराइने छ ।
प्रदेश सरकारले यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने जनाएको छ ।





