भद्रा

ज्योतिषशास्त्रको प्राचीनता सर्वथा सिद्ध छ । वैदिक संहिताका प्राचीनतम अंशहरूमा ज्योतिषशास्त्रका प्रमुख सिद्धान्तहरूको बीज रूपमा उपलब्ध हुनुले यही तथ्यलाई अझ सबल बनाउँछ । ऋग्वेदको विश्वामित्र नदी संवाद सूक्त यस सन्दर्भमा उल्लेखनीय छ भन्ने लाग्दछ । यस सूक्तको मन्त्रमा ज्योतिषशास्त्रको प्रमुख अवयव ‘मुहूर्त’को स्पष्ट उल्लेख छ । ज्योतिषशास्त्रको वेदाङ्गत्वलाई प्रमाणित गर्ने परम्परामा महर्षि लगधद्वारा प्रणीत ‘वेदाङ्ग ज्योतिष’ महत्त्वपूर्ण ग्रन्थ हो । यस ग्रन्थका धेरै स्थानमा कालका विभिन्न इकाइहरूको वर्णन गरिएको पाइन्छ । कालको यस अनन्त प्रवाहमा ज्योतिषशास्त्रले जनसामान्यको कल्याणतर्फ सधैं योगदान दिएको छ ।

प्राचीन ऋषि, महर्षीहरूका साथै विद्वान् दैवज्ञहरूले यस कालविधान शास्त्रलाई आफ्नो मेधाशक्तिद्वारा पुष्पित पल्लवित बनाएका छन् भन्दा अत्युक्ति नहोला । प्राचीन समयमा ज्योतिषशास्त्र दैनिक जीवनकै एक अभिन्न अङ्ग थियो । जो विना यज्ञादि प्रमुख कार्यहरूको कल्पना नै गर्न सकिँदैनथ्यो । त्यसैले विद्यार्थीहरूलाई ब्रह्मचारी जीवनमा ज्योतिषशास्त्र अध्ययन अनिवार्य गरिएको थियो । तर कालान्तरमा यसको अध्ययनमा शिथिलता आयो । गणितमा आधारित शास्त्र भएकाले यो श्रमसाध्य विषय ठहरियो । जसले गर्दा विद्यार्थीकै मनमा उपेक्षा जागृत भयो । यसरी यो काल विधान शास्त्र अब समाजको सामान्य व्यवहारमा अपरिहार्य रूपमा रहेन र विशेष वर्गको सीमित विद्या बन्यो अथवा धनार्जन गर्ने माध्यम बन्यो ।

नवीन ग्रन्थहरूमा पनि यसै विषयका धेरै उल्लेख पाइन्छन् । जहाँ यस ज्ञानका अधिकारीहरूको वर्णन छ । यही कारणले गर्दा ज्योतिषशास्त्र जस्तो सरल र लोकोपयोगी विषय अत्यन्त गुप्त विद्या बनेको हो । यसको धेरै संज्ञा, योग र सिद्धान्तहरू बुझ्न दुरूह भए । यही प्रवृत्ति वर्तमान सन्दर्भमा पनि देखिन्छ । कालसर्पयोग, शनि साढेसाती, अढैया दशा, राहु केतुका अशुभ प्रभाव, भद्रा, विषकन्या योग, माङ्गलिक योग आदि कुरालाई विकृत र भयोत्पादक रूपमा प्रस्तुत गरिन्छ । यसै सन्दर्भमा एक संज्ञा आउँछ भद्रा ।

यद्यपि ‘भद्रा’ शब्द श्रवण मात्रले शुभ जस्तो लाग्छ । तर यसको अशुभ प्रभावलाई बढी महत्त्व दिइएको छ । लोक व्यवहारमा ‘भद्र’ शब्द सज्जन अर्थमा प्रयोग हुन्छ जस्तै भद्र पुरुष भन्नाले सज्जन पुरुष बुझिन्छ । वैदिक ग्रन्थहरू अथर्ववेद, ऐतरेय ब्राह्मण, तैत्तिरीय संहिता, शतपथ ब्राह्मण आदिमा पनि ‘भद्र’ शब्दको प्रयोग छ । ऋग्वेदको इन्द्र सूक्तमा भद्र प्राप्तिको प्रार्थना गरिएको छ भने उषस् सूक्तमा भद्र वस्त्रहरूको उल्लेख छ । कोशग्रन्थहरूले ‘भद्र’ शब्दको अर्थ “भला, शुभ, भाग्यवान्, कृपालु, प्रिय, सुन्दर, कल्याणप्रद” भनेर गरेको पाइन्छ । यसरी ‘भद्र’ शब्द शुभ फलको सूचक भएको स्पष्ट हुन्छ । तर जब पाठकले संस्कृतको ‘भद्र’ शब्दको अर्थ नबुझेर, ज्योतिषशास्त्रीय मुहूर्त ग्रन्थमा वर्णित ‘भद्रा’ शब्द हेर्छ र त्यसको शुभाशुभ अध्ययन गर्छ तब स्वाभाविक जिज्ञासा हुन्छ । शुभ र सज्जन अर्थ दिने ‘भद्र’सँग साम्य राख्ने ‘भद्रा’ किन अशुभ सूचक भयो ?

यसको समाधानका लागि मुहूर्तशास्त्र र पौराणिक साहित्यमा वर्णित ‘भद्रा’को स्वरूप बुझ्न आवश्यक हुन्छ ।

‘भद्रा’ शब्दको प्रयोग दुई सन्दर्भमा पाइन्छ:

१. तिथि को सन्दर्भमा
२. करण को सन्दर्भमा ।

पञ्चाङ्गमा तिथि, वार, योग, नक्षत्र र करणको गणना हुन्छ । शुक्ल र कृष्ण पक्षका पन्ध्र-पन्ध्र तिथिलाई विशेष संज्ञा दिइएको छ । नन्दा, भद्रा, जया, रिक्ता र पूर्णा ।

प्रथमा, षष्ठी र एकादशी = नन्दा
द्वितीया, सप्तमी र द्वादशी = भद्रा
तृतीया, अष्टमी र त्रयोदशी = जया
चतुर्थी, नवमी र चतुर्दशी = रिक्ता
पंचमी, दशमी र पूर्णिमा वा अमावस्या = पूर्णा ।

भद्रा तिथिहरूमा धेरै माङ्गलिक कार्य विहित छन् जस्तै राजा सम्बन्धि कार्य, व्रतबन्ध, प्रतिष्ठा, यात्रा, विवाह, भूषण-आभूषण आदि । यसरी तिथिको सन्दर्भमा ‘भद्रा’ अशुभ होइन भन्ने स्पष्ट हुन्छ । तर, करणको सन्दर्भमा ‘भद्रा’ (वा विष्टि) करणलाई “तिथ्यर्द्धं करणम्” भनिएको छ । एघार करणमध्ये विष्टि करणलाई भद्रा पनि भनिन्छ र यसलाई अशुभ मानिन्छ ।

प्रत्येक महिनाका आठ तिथ्यर्धमा भद्रा पर्छ । यसलाई विभिन्न नाम (कराली, नन्दिनी, रौद्री, सुमुखी, दुर्मुखी, त्रिशिरा, वैष्णवी र हंसी) दिइएको छ ।

भद्रा दिवा/रात्रि, शुक्ल/कृष्ण पक्षअनुसार पनि छुट्टिन्छ । यसका अङ्गहरू मुख, कण्ठ, हृदय, नाभि, कटि, पुच्छ आदि पनि गणना गरिएको छ । जसअनुसार कुन अङ्गमा कार्य गर्दा हानी हुन्छ भन्ने उल्लेख छ । विष्टि करणको स्वामी यम भनिन्छ ।

पौराणिक आख्यान
ब्रह्मपुराणमा भद्रालाई छाया र मार्तण्डकी पुत्री भनिएको छ । वशिष्ठ संहितामा भने शिवको तृतीय नेत्रको अग्निबाट भद्रा उत्पन्न भएको उल्लेख छ । यसको स्वरूप अति भयङ्कर भनिएको छ कि गदहामुखी(गधामुखी), सात हात, धूम्रवर्ण, तीन खुट्टा, प्रेतारूढा, अग्निज्वालायुक्त आदि । यही स्वरूपले सामान्य जनमानसमा भद्राप्रति भय उत्पन्न गराउँछ ।

अशुभ पक्ष
मुहूर्तशास्त्रअनुसार “विष्टिर्नेष्टा तु मङ्गले” यसैले भद्रा कालमा विवाह आदि माङ्गलिक कार्य निषिद्ध भनिन्छ ।

“तस्मात्तत्र शुभं कर्म मनसापि न कारयेत् ।” भद्राका विभिन्न अङ्गमा कार्य गर्दा कार्य विनष्ट, मृत्यु, दरिद्रता, विघ्न आदि हुन्छ भनिएको छ । कालिदासले पनि लेखेका छन् भद्रा आफ्नो जिह्वाले माङ्गलिक कार्यलाई भक्षण गर्छे ।

शुभ पक्ष
तर सम्पूर्ण भद्रा काल अशुभ होइन । भद्रा पुच्छ शुभ मानिन्छ “पुच्छे ध्रुवो जयः” ।

युद्ध, बन्धन, विष विषयक कार्य, शत्रुहनन, पशुपालन आदि कार्यमा भद्रा श्रेष्ठ हुन्छ । पाताल वा स्वर्गस्थित भद्रा शुभ हुन्छ भने भूतलस्थित मात्र वर्जित भनिन्छ । ब्रह्मयामल, मुहूर्त चिन्तामणि आदिअनुसार दिव, रात्रि भिन्न भए दोष नहुने पनि भनिएको छ ।

राजकार्य, युद्ध, दान, पूजा, यज्ञ, हरितालिका पूजन, श्रावणी कर्म, होलिका, शिव पार्वती पूजन आदि धेरै कार्यमा पनि भद्रा ग्राह्य छ ।

यसैले भद्रा पूर्णतया अशुभ होइन, सन्दर्भअनुसार शुभ फलदायिनी पनि हुन्छ । यसरी भद्र शब्दमा निहित शुभ अर्थ र मुहूर्तशास्त्रमा वर्णित भद्रा (करण) बीच भिन्नता छ भन्ने स्पष्ट हुन्छ ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत विद्यापीठम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट