चितवन, ५ असोज ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा अवरुद्ध भएर अलपत्र परेका यात्रुहरूको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा स्वास्थ्यकर्मीहरूको टोलीले यात्रुहरूको स्वास्थ्य अवस्था जाँच गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा गरिएको उक्त चेकजाँचमा चितवनका सुरक्षा प्रमुख प्रहरी एसपी गोविन्द पुरी, डा. सुदीप केसी, डा. प्रतीक न्यौपानेलगायत सहभागी रहेका थिए ।
सडक अबरुद्ध भएपछि लामो समयदेखि रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्याको जोखिम बढ्ने सम्भावना देखिएकाले तत्कालै सडकमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
पहिरो खसेर शुक्रबार साँझ ७ बजेदेखि अवरुद्ध नारायणगढ – मुग्लिङ सडकखण्ड आइतबार दिउँसो ४ बजेदेखि सञ्चालनमा आएको छ । पहिरो खसिरहने जोखिम रहेकोले आज राति ९ बजेदेखि भोलि बिहान ५ बजेसम्म भने यस खण्डमा यातायात आवतजावत बन्द गरिएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ ।