जन्म समयको सूक्ष्म अन्तर र यसको ज्योतिषीय प्रभाव

जन्म समयमा केही मिनेटको अन्तरले (ज्योतिषीय गणनाहरू) विशेष गरी लग्न र भविष्यवाणीमा महत्वपूर्ण प्रभाव पार्न सक्छ, पारिएका पनि प्रशस्त छन् । यसलाई चरण अंशमा विस्तृत रूपमा बुझ्नका लागि गणितीय र ज्योतिषीय दृष्टिकोणबाट प्रत्येक पक्षलाई व्याख्या गर्न सकिन्छ । यसपछि यो पनि बुझ्न सकिन्छ कि यो अन्तर विभिन्न ज्योतिषीय कारकहरूले (लग्न, ग्रह, भाव, दशा, वर्ग कुण्डली आदि) कसरी प्रभावित गर्छ ।

चरण (१): लग्नको गणना र समयको महत्व

लग्न भनेको जन्मको समयमा पूर्वी क्षितिजमा उदित हुने राशि हो । यो कुण्डलीको पहिलो भाव हो र व्यक्तिको व्यक्तित्व, स्वास्थ्य र जीवन पथ दर्शाउँछ । पृथ्वी २४ घण्टामा ३६० डिग्री घुम्छ । जसको अर्थ आकाशमा राशिहरू प्रति घण्टा १५ डिग्री र प्रति मिनेट ०.२५ डिग्रीको दरले परिवर्तित हुन्छन् । प्रत्येक राशि ३० डिग्रीको हुन्छ र पार गर्न करिब २ घण्टा लाग्छ ।

लग्नको गणना यस प्रकार हुन्छ 👇️
लग्नको स्थिति = सूर्योदयको समयको लग्न + (जन्म समय – सूर्योदय समय) × १५ डिग्री/घण्टा ।
यसमा स्थानीय सूर्योदय समय र अयनांश समायोजन गर्नुपर्छ ।

उदाहरणका लागि
यदि सूर्योदय ६:०० (AM) मा भएको हो र त्यस समयमा लग्न ० डिग्री मेषमा छ भने जन्म समय १०:०० (AM) भएमा:
समय अन्तर = १०:०० (AM) – ६:०० (AM) = ४ घण्टा
लग्न वृद्धि = ४ × १५ = ६० डिग्री
नयाँ लग्न = मेष ०° + ६०° = मिथुन ०°
यदि जन्म समय १०:०४ (AM) हो भने अतिरिक्त ४ मिनेट = ४ × ०.२५ = १ डिग्री ।
नयाँ लग्न = मिथुन १ डिग्री।
चार मिनेटको अन्तरले लग्नको डिग्री १ डिग्री परिवर्तन गर्छ । यदि लग्न राशि परिवर्तनको नजिक छ (जस्तै २९.५ डिग्री), यो अर्को राशिमा जान सक्छ जसले कुण्डलीको आधार नै बदल्न सक्छ ।

चरण (२): समय अन्तरको लग्नमा प्रभाव

प्रत्येक राशि करिब दुई घण्टामा बद्लिन्छ । यसको अर्थ लग्न प्रति ४ मिनेटमा १ डिग्री परिवर्तन हुन्छ । जन्म समयमा चारदेखि आठ मिनेटको अन्तर भएमा सामान्य अन्तर (१–४ मिनेट): लग्नको डिग्री बद्लिन्छ तर राशि भने उस्तै रहन्छ । यसले उप-लग्न र घटी लग्न जस्ता सूक्ष्म भविष्यवाणीमा प्रभाव पार्न सक्छ ।

मध्यम अन्तर (४–८ मिनेट): यदि लग्न राशि परिवर्तनको नजिक छ भने अर्को राशिमा प्रवेश गर्न सक्छ ।

उदाहरणका लागि
जन्म समय १०:०० (AM) मा लग्न २९.५ डिग्री मेष छ भने ८ मिनेट पछि १.५ डिग्री वृषमा जान सक्छ । यसले पहिलो भावको स्वामी मङ्गलबाट शुक्रमा बद्लिन्छ र व्यक्तित्व र जीवन दृष्टिकोण परिवर्तन हुन्छ ।

चरण (३): ग्रहहरूको स्थिति र प्रभाव

ग्रहहरूको गति सामान्यतया ढिला हुन्छ । तर केही मिनेटको अन्तरले उनीहरूको डिग्री र नक्षत्रमा प्रभाव पार्न भने अवश्य सक्छ । चन्द्रमा करिब १२–१४ डिग्री/दिनको दरले चल्छ । करिब ०.००८ डिग्री/मिनेट ।

उदाहरणका लागि
यदि चन्द्रमा २९.९ डिग्री मेषमा छ र जन्म समयमा ४ मिनेटको अन्तर छ भने:
४ × ०.००८ = ०.०३२ डिग्री
नयाँ चन्द्रमा = २९.९ + ०.०३२ = २९.९३२ डिग्री मेष (नक्षत्र उस्तै)
तर यदि चन्द्रमा २९.९९ डिग्री मेषमा छ भने ४ मिनेटपछि = ३०.०३२ डिग्री = ०.०३२ डिग्री वृष। यसले नक्षत्र (जस्तै कृत्तिकादेखि रोहिणी) र दशा बदल्न सक्छ ।

चरण (४): भावमा प्रभाव

कुण्डलीमा १२ भाव जीवनका विभिन्न क्षेत्रहरू (स्वास्थ्य, धन, विवाह, करियर) देखाउँछन् । लग्न बद्लिँदा सबै भाव प्रभावित हुन्छन् ।

उदाहरणका लागि
मेष लग्न वृषमा बद्लिँदा पहिलो भावको स्वामी मङ्गलबाट शुक्रमा जान्छ । सबै भावहरू एक राशि अगाडि सर्छ । द्वितीय भावको स्वामी मेष लग्नमा शुक्र थियो भने वृष लग्नमा बुध हुन्छ । जसले धन र व्यापारसँग सम्बन्धित भविष्यवाणी बदल्छ ।

चरण (५): दशा र गोचरमा प्रभाव

विंशोत्तरी दशा चन्द्रमाको नक्षत्रमा आधारित हुन्छ । प्रत्येक नक्षत्रको ग्रह स्वामी हुन्छ । यदि चन्द्रमा कृत्तिका नक्षत्रमा छ भने सूर्यको दशा सुरु हुन्छ । ४ मिनेटको अन्तरले चन्द्रमा रोहिणी नक्षत्रमा गएमा चन्द्रमाको दशा सुरु हुनेछ । गोचर गणना पनि सटीक समयमा निर्भर हुन्छ । केही मिनेटको अन्तरले गोचरको प्रभाव सूक्ष्म रूपमा बदल्न सक्छ ।

चरण (६): वर्ग कुण्डलीमा प्रभाव

वर्ग कुण्डलीहरू( नवमांश, द्वादशांश इत्यादि) विशिष्ट क्षेत्रहरू (विवाह, जागिर) विश्लेषणका लागि प्रयोग हुन्छन् । लग्न र ग्रहहरूको स्थिति संवेदनशील हुन्छ । नवमांशमा प्रत्येक भाग ३.३३ डिग्री हुन्छ । ४ मिनेटको अन्तरले (०.२५ डिग्री) नवमांशको लग्न परिवर्तन गर्न सक्छ । जसले विवाह र साझेदारीसँग सम्बन्धित भविष्यवाणीलाई असर गर्न सक्छ ।

चरण (७): सूक्ष्म प्रभाव

उप-नक्षत्र र उप-लग्नहरू छोटो समय अन्तरमा परिवर्तन हुन सक्छन् । ४ मिनेटले दशा, गोचर र शुभ मुहूर्तको गणना प्रभावित गर्न सक्छ ।

चरण (८): समय त्रुटि र समाधान

सम्भावित त्रुटि: अस्पतालमा समयको ढिलाइ ,अभिभावकको सम्झनामा निर्भरता, समय क्षेत्र वा घडीको गल्ती (जन्म समय अभिभावकले बताउँदा हुन सक्ने त्रुटि)

समाधान:
क) घटना आधारित सुधार: जीवनका प्रमुख घटनासँग मिलाएर समयको अनुमान
ख) प्रश्न कुंडली: प्रश्नको समयमा कुंडली बनाएर सुधार
सफ्टवेयर जस्ता उपकरण प्रयोग गरेर समय संशोधन

चरण (९): व्यावहारिक उदाहरण

मानौं जन्म समय १०:०० (AM) (लग्न २९.८ डिग्री मेष, चन्द्रमा ९.९९ डिग्री वृष, कृत्तिका नक्षत्र) छ । तर वास्तविक समय १०:०८ (AM) थियो ।

लग्न: २९.८ + २ डिग्री = १.८ डिग्री वृष । प्रथम भावको स्वामी मङ्गलबाट शुक्रमा बद्लियो ।
चन्द्रमा: ९.९९ + ०.०६४ = १०.०५४ डिग्री वृष । नक्षत्र कृत्तिकादेखि रोहिणीमा (दशा सूर्यबाट चन्द्रमा )
भाव: सबै भाव एक राशि अगाडि सर्छ । नवमांश लग्न परिवर्तन हुन सक्छ ।

परिणाम: व्यक्तित्व, धन, विवाह सम्बन्धि भविष्यवाणीहरू पूर्ण रूपमा परिवर्तित हुन्छन् ।

चरण (१०): निष्कर्ष र सुझाव

जन्म समयमा ४–८ मिनेटको अन्तरले लग्न, ग्रह स्थिति, भाव, दशा र वर्ग कुण्डलीलाई बदल्न सक्छ । गणितीय रूपमा प्रत्येक ४ मिनेटले लग्नमा १ डिग्री परिवर्तन गर्छ । यसले ज्योतिषीय विश्लेषणको सटिकता कम गर्न सक्छ ।

सुझाव:
जन्म समयको सटिकता सुनिश्चित गर्नुहोस् । डिजिटल उपकरण र GPS आधारित रेकर्डिङ प्रयोग गर्नुहोस् । समयमा शंका भएमा अनुभवी ज्योतिषीसँग समय संशोधन गराउनुहोस् ।

(लेखक न्यौपाने वेद वेदाङ्ग संस्कृत गुरुकुलम् देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट