भरतपुर, २ असोज ।
चितवनका निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ ।
प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर र १० थान प्रिन्टर हस्तान्तरण गरेको हो । जिल्लास्थित प्याब्सन–आबद्ध विद्यालयहरूबाट संकलन गरिएको रकमबाट ती सामग्री खरिद गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ ।

‘युवाहरूको उकुसमुकुस र देशमा सुशासन कायम गराउने हुटहुटीबाट सिर्जित आन्दोलनले जिल्लाका अधिकांश कार्यालयहरू ध्वस्त भएका कारण जिल्लामा छरितो सेवा प्रवाह होस् भन्ने हेतुले सहयोग गरिएको हो,’ प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले बताए ।
‘भदौ २३ र २४ गतेको आन्दोलनपछिको परिस्थितिमा सेवाग्राही नागरिकले सकेसम्म कम पीडा भोगून् भन्ने उद्देश्यले हामीले प्रमुख जिल्ला अधिकारीज्यूसँग सल्लाह गरी ती सामग्री प्रदान गरेका हौं’, पुरीले भने ।
प्रशासनको आग्रहबमोजिम हस्तान्तरण गरिएका सामग्रीमा टुवेल्थ जेनको आइ–५ कम्प्युटर १० थान, ब्रदर ब्रान्डको एल–२३२० डुप्लेक्स (दुईतर्फी प्रिन्ट गर्न मिल्ने) थ्री–इन–वान प्रिन्टर १० थान, र २२ इन्चको एलइडी मोनिटर १० थान रहेका छन् । ती कम्प्युटरहरूमा ८ जिबी र्याम र ५१२ जिबीको एसएसडी जडान गरिएको प्याब्सन चितवनले जनाएको छ ।
प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलको सक्रियता तथा नेतृत्वमा संकलित रकमबाट खरिद गरिएका कम्प्युटर र प्रिन्टरको प्रतिसेट मूल्य एक लाख १० हजार रुपैयाँ पर्छ भने सम्पूर्ण सेटको कुल मूल्य एघार लाख रुपैयाँ हुने प्याब्सन चितवनले जनाएको छ । ‘देश दुखेको बेला मलहम लगाउने प्रयासस्वरूप सहयोग गरेका हौं,’ कोषाध्यक्ष पौडेलले भने ।
अध्यक्ष पुरीद्वारा हस्तान्तरण गरिएका सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले धन्यवाद ज्ञापन गर्दै भने, ‘नागरिकलाई छरितो सेवा प्रवाह गर्न चितवन प्रशासन प्रतिबद्ध छ । हामी घटनाको तेस्रो दिनदेखि नै सेवामा जुटिसकेका छौं ।’

कतिपय जिल्ला प्रशासन कार्यालयहरूले दसैंअघि सेवा प्रवाह सम्भव नहुने भनी सूचना जारी गरिरहेको अवस्थामा चितवन प्रशासनले भने तत्कालै सेवा प्रवाह सुरु गरिसकेको उनले बताए । ‘आन्दोलनका नाममा ढुंगा हान्न उक्साउने र ढुंगा हान्नेले चाहिएको सेवा तुरुन्तै पाए भने त्यो “ईँटको जवाफ फूलले दिएजस्तै” हुन्छ,’ उनले भने ।
सिडिओ अर्यालका अनुसार ध्वंसमा परेका चितवनका कार्यालयहरूमध्ये केही पुनः सञ्चालनमा आइसकेका छन् भने मालपोत कार्यालयबाहेक अन्य सबै कार्यालयहरू छिट्टै सञ्चालनमा आउने छन् ।
आन्दोलनको क्रममा प्रशासन संयमित रहेको र मानवीय क्षति हुन नदिन पछि हटेको उनले स्पष्ट पारे । ‘भौतिक संरचनाको क्षति विस्तारै पूर्ति हुन्छ, तर मानवीय क्षति अपूरणीय हुने भएकाले हामी संयमताका साथ अघि बढ्यौं,’ उनले भने ।
प्याब्सन चितवनका सचिव दयानिधि आर्यालको सञ्चालनमा सम्पन्न सो सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरीका एसपी गोविन्द पुरी, नेपाली सेनाका गणपति दिनेश लामा, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक, निजी विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरूको सहभागिता रहेको थियो ।





