जेन्जीको आक्रोशित ध्वनि : सार्वभौमसत्ताको अन्तिम घण्टी ?

नेपाल अहिले एक गम्भीर राजनीतिक, सामाजिक र आर्थिक मोडमा छ । विगत केही दिनमा देखिएको युवावर्गको उभार, विशेषगरी सामाजिक सञ्जाल प्रतिबन्धको प्रतिक्रियामा शुरू भएको आन्दोलनले देशको राजनीति केवल सरकारको असफलता वा नीतिगत कमजोरीकै परिणाम मात्रै होइन भन्ने कुरा प्रष्ट पारेको छ । यो मूलतः दीर्घकालीन रूपमा जम्दै आएको भ्रष्टाचार, दलहरूको स्वार्थीपन र नागरिकलाई अवहेलित गर्ने प्रवृत्तिको उपज हो भन्नेमा सायदै कसैको दुई मत भने पक्कै नरहला ।

राजनीतिक नेतृत्वले देशलाई नयाँ बाटो दिन सक्ने अवसर पटक–पटक पाए पनि उनीहरू व्यक्तिगत लाभ, दलगत समीकरण र सत्ताको मातमा मदहोस भइरहे । यसरी जब राज्य संयन्त्र नै स्वार्थको अखाडामा रूपान्तरित हुन्छ, तब समाजमा आक्रोश, निराशा र विद्रोहको ज्वालामुखी विस्फोट हुन्छ ।

यसै सन्दर्भमा युक्रेनको हालैको इतिहास नेपालका लागि गहिरो शिक्षाको विषय बन्न सक्छ । भोलोदिमिर जलेन्स्की नामक व्यक्तित्व, जो एक हास्यकलाकारबाट अचानक राजनीतिमा प्रवेश गरी २०१९ मा राष्ट्रपतिसम्म पुगे, प्रारम्भमा भ्रष्टाचारविरोधी नाराको कारण जनतामा लोकप्रिय भए । जनताले पुरानो राजनीतिक वर्गप्रति मोहभंग भएर नयाँ अनुहारलाई विकल्पका रूपमा रोजे । तर राजनीतिक अभ्यासमा अनुभवहीन नेतृत्वले बाह्य हस्तक्षेप, युद्धको चुनौती र आन्तरिक अस्थिरतालाई सामना गर्न नसक्दा जनअपेक्षाअनुसारको परिणाम दिन सकेन । युक्रेनले सार्वभौमसत्ता मात्र गुमाएको छैन, लाखौं नागरिकको जीवन, अर्थतन्त्र र स्वतन्त्रतामा समेत गम्भीर संकट व्यहोरिरहेको छ ।

नेपालमा पनि अहिलेको असन्तोष यस्तै प्रकारको नयाँ नेतृत्वको उदयतर्फ संकेत गरिरहेको छ । जब पुराना दलहरूमाथि अविश्वास चरम विन्दुमा पुग्छ, तब जनताले अप्रत्याशित अनुहारलाई विकल्पका रूपमा अगाडि ल्याउन प्रयत्न गर्नु केही हदसम्म स्वाभाविक पनि हो । यो प्रक्रियाले प्रारम्भमा उत्साह जगाउँछ, तर यदि नेतृत्वले संस्थागत अभ्यास, नीतिगत स्पष्टता र राष्ट्रिय हितमा दृढता देखाउन सकेन भने युक्रेनको जस्तै असफलताको चक्र नेपालमा पनि दोहोरिन सक्छ । देशमा असन्तोषको ज्वालामुखी फुटिरहेको छ, तर त्यो उर्जा मार्गहीन भयो भने, परिणाम अझै विनाशकारी हुनेछ ।

अझ महत्त्वपूर्ण त, सामाजिक संरचना पनि कमजोर बन्दै गइरहेछ । बेरोजगारी, वैदेशिक श्रममा निर्भरता, मादक पदार्थ दुरुपयोग, हिंसा र सामाजिक असमानता जस्ता समस्याले समाजलाई असन्तुलित बनाएको छ । यस्तो अवस्थामा पनि राजनीतिक दलहरूले बेलैमा साझा राष्ट्रिय समाधानको मार्ग नअपनाउनाले युवाहरुले बिदम्बनाका साथ विद्यमान शैली रोज्नुपरेको हो । जातीय, भाषिक वा क्षेत्रीय सवाललाई चुनावी नारा र विभाजनकारी राजनीतिक पूँजीमा बदल्ने चलन नेपालमा कुनै नयाँ कुरा होइन । यही कारणले समाजमा असन्तोष झन् चर्किँदै गएको छ । यदि यो प्रवृत्ति रोकिएन भने, नेपाल पनि युक्रेन झैँ वैदेशिक शक्तिहरूको खेलमैदान बन्ने सम्भावना प्रष्ट देखिन्छ ।

अर्थतन्त्रमा पनि जोखिम बढिरहेको छ । राजनीतिक अस्थिरताले लगानीकर्तालाई पन्छाइरहेको छ, उत्पादनशील क्षेत्र कमजोर हुँदै गएको छ र वैदेशिक मद्दतमाथि निर्भरता झन् बढिरहेको छ । युक्रेनले युद्धपछि गरेको जस्तै, नेपालले पनि यदि आन्तरिक स्रोत र श्रमलाई परिचालन गर्न सकेन भने, स्वतन्त्र अर्थतन्त्र निर्माण असम्भव हुनेछ । वैदेशिक ऋण र सहायता माथि अतिको निर्भरता अन्ततः सार्वभौमसत्तामा घातक असर पार्छ ।

यससँगै नेपालले कहिल्यै बिर्सन नहुने यथार्थ भनेको हाम्रो भौगोलिक अवस्थाले हामीलाई दुई विशाल शक्ति भारत र चीनको बीचमा अड्याएको छ । यदि हामी आन्तरिक रूपमा बलियो नीतिगत आधारमा उभिन सकेनौं भने, यी छिमेकी शक्तिहरू आफ्ना स्वार्थका लागि नेपाललाई प्रयोग गर्न कुनै ढिलाइ गर्ने छैनन् । नेपालको राजनीति कमजोर हुँदा उनीहरूको दबाब झन् बढ्छ र हामी आफ्नो स्वतन्त्र निर्णय गर्ने क्षमताबाट बञ्चित हुन्छौँ । त्यसैले अहिलेको क्षणमा ठोस नीति, राष्ट्रिय एकता र स्पष्ट दीर्घकालीन दृष्टिकोण बिना, नेपालको भविष्य केवल आन्तरिक अस्थिरतामै होइन, बाह्य शक्तिको दवाव र हस्तक्षेपमा पनि फस्नेछ ।

युक्रेनको अनुभवबाट प्राप्त भएको महत्वपूर्ण चेतावनी, जब राजनीतिक दलहरू जनतालाई धोका दिन्छन्, भ्रष्टाचारलाई संस्थागत गर्छन् र बाह्य शक्तिसँग असमान सम्झौता गर्छन्, तब देश केवल अस्थिर मात्र हुँदैन, बरु आफ्नो अस्तित्व नै संकटमा पार्छ ।

नेपाल अहिले त्यही मोडमा उभिएको छ जहाँ गलत बाटो रोजेमा भविश्य अन्धकारमय बन्न सक्छ । लोकतन्त्रलाई वास्तविक अर्थमा संस्थागत नगरेसम्म, युवा आन्दोलनलाई सकारात्मक राजनीतिक रूपान्तरणमा नलगेसम्मब र राष्ट्रिय हितलाई स्वार्थभन्दा माथि राख्न नसकेसम्म, नेपालको नियति पनि युक्रेनकै नियतिसँग मेल खान सक्छ।
तर यस्तै संकटको क्षणले नयाँ अवसर पनि जन्माउँछ । युवावर्गले प्रदर्शनमार्फत दिएको सन्देश स्पष्ट छ कि पुराना रानजीतिक अभ्यास, भ्रष्टाचार र असफल नेतृत्व अब किमार्थ स्वीकार्य छैन । यदि यही उर्जालाई नीति निर्माणमा, संस्थागत सुधारमा र राष्ट्रिय एकतामा उपयोग गर्न सकियो भने, नेपालले केवल संकट टार्ने मात्र होइन, नयाँ अध्यायको सुरुवात पनि गर्न सक्छ । तर यदि अब बन्ने नवीन नेतृत्व फेरि पनि स्वार्थको दलदलमा फस्यो भने, नेपालको सार्वभौमसत्ता, सामाजिक शान्ति र आर्थिक भविष्य सबै प्रश्नचिन्हमा पर्छ ।

नेपाल आज निर्णायक मोडमा छ । एकतर्फ युक्रेनको चेतावनीपूर्ण अनुभव छ, अर्कोतर्फ आफ्नै युवाशक्ति, नागरिक आक्रोश र सुधारको अवसर छ । तर यदि हामी सही नीति र मार्गदर्शनसहित उठ्न सकेनौँ भने हाम्रो ठूलो र शक्तिशाली छिमेकीहरूले पनि आफ्ना स्वार्थका लागि हाम्रो भविष्यलाई चोट पुर्‍याउने खतरा बढ्नेछ ।

अब प्रश्न यो हो : नेपालले युक्रेनको बाटो पछ्याउनेछ वा इतिहासबाट सिकेर राष्ट्रिय सार्वभौमसत्तालाई सुरक्षित राख्दै नयाँ बाटो कोर्नेछ ?

यही प्रश्नको उत्तरले नेपालको भविष्यको नवीन गोरेटो निर्धारण गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट